PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

​मन्त्रीले उद्घाटन गरेको एक महिनामै चुहियो एयरपोर्टको छानो



सविन ढकाल

​मन्त्रीले उद्घाटन गरेको एक महिनामै चुहियो एयरपोर्टको छानो

काठमाडौं : पर्यटन मन्त्री आनन्द पोखरेलले उद्घाटन गरेको एक महिना नपुग्दै काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलभित्र छाता ओड्नुपर्ने भएको छ।

साँघुरो र अव्यवस्थित टर्मिनललाई विस्थापित गर्ने गरी १२ करोड रुपैयाँको लगानीमा बनाइएको टर्मिनलले पानी पर्दा थेग्दैन। विमानबाट यात्रा गर्न जाने तयारीमा हुनुहुन्छ भने छाता नभुल्नुहोला। कुनै पनि बेला पनी पर्न सक्छ र विमानस्थलको छतभित्र तपाईँ भिज्नुहोला!

२ हजार २ सय वर्गमिटरमा बनेको टर्मिनल हेर्दा पहिलेभन्दा आकर्षक त देखिन्छ तर झरीसमेत थेग्न नसक्ने हो भने जतिसुकै राम्रो देखिए पनि त्यसको के अर्थ?

हामीले टर्मिनलभित्र रहँदा झरीको अनुभूति गर्‍यौं। सोझै पानी झर्ने त होइन तर तपतप चुहिँदा छाता बोक्नुपर्ने स्थितिले उद्घाटन गरेको महिना दिन मात्र भयो भन्दा अनौठो लाग्ने रहेछ।
 
भवनको बाहिर कक्षमा छानाबाट पानी चुहिन्छ। विमानस्थलका एक सुरक्षाकर्मीले दिएको जानकारी अनुसार भवनको बाहिरी भागमा मात्र होइन भित्र पनि विभिन्न ठाउबाट पानी सिपेज हुने गरेको छ। विमानस्थलमा यो दुर्दशा देखेपछि हामीले विमानस्थलका निमित्त महाप्रबन्धक भोलाप्रसाद गुरागाईँलाई सोध्यौं।

उनले विमानस्थलको नयाँ भवनबाट पानी चुहिएको स्वीकारे। भूकम्पको बेला छाना हल्लिएकाले पानी चुहिएको उनको तर्क थियो।

'यसबारे हामी ठेकेदारसँग कुरा गरिरहेका छौं,' उनले हामीलाई यस्तो भनिरहँदा काठमाडौंमा पानी परिरहेको थियो।

अव्यवस्थाको चरम नमुना हो यो विमानस्थल। छतबाट पानी चुहिने समस्यामात्र छैन यससँग। उडान समयभन्दा केही अगाडि विमानस्थल पुग्नुभयो अथवा त्यहाँ फ्लाइट डिले भएर कुर्न पर्‍यो भने तपाईँले समस्यै समस्या भोग्नुपर्छ।
 
विमानस्थलको नयाँ भवनमा यात्रुका बस्ने कुनै व्यवस्था छैन। बस्ने ठाउँ नहुँदा यात्रुहरु कि त उभिएर नै समय बिताउँछन् कि त भूइँमै बस्छन्।

फोटोमा देखिएकी यी वृद्धाको भर्खरै पत्थरीको सल्यक्रिया भएको छ। पतिसँग ताप्लेजुङ जाँदैछिन्। उनको फ्लाइट एक घन्टा ढिलो भएको सूचना आयो। उनले शरीर आड लगाउने ठाउँ पाइनन्। र, ढलाएर राखिएको भर्‍याङमाथि नै उनी बसिन्। यी वृद्धाले पाएको दु:ख यो विमानस्थलले देखेन।

त्यसो त यसैसँग जोडिएको देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको हालत उस्तै छ। विश्वका खराब विमानस्थल मध्ये त्रिभुवन विमानस्थल तेस्रो बन्यो। देश कस्तो छ भन्ने देखाउन राजधानीका एयरपोर्ट काफी छन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell