PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​अपाङ्ग इन्जिनियर बने सफल उद्यमी



पहिलोपोस्ट

​अपाङ्ग इन्जिनियर बने सफल उद्यमी

  • कृष्ण खनाल
बुटवल : 'जहाँ इच्छा त्यहाँ उपाय' भन्ने युक्तिलाई कपिलवस्तुका एक अपाङ्ग युवकले पुष्टी गरेका छन्।

जन्मजात दुवै खुट्टा टेक्न नसक्ने बिफई प्रजापति(कोहार) ले बैशाखीकै सहारामा इन्जिनियरिङ अध्ययन पूरा गरेका छन् भने व्यवसायमा पनि सफल बनेका छन्। उनले भारत गोखरपुरको एमएम इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङमा ग्र्याजुयेट गरेका छन्।

गोखरपुरमा होस्टेलमा बसेर  अध्ययन पुरा गरेका  कोहार अहिले कफिलवस्तुको विजुवा–८ मा स्टेप राइज इंगलिस स्कुलको प्रिन्सिपल छन् भने प्रगतिशील सहकारी संस्था र कम्प्युटर इन्स्टिच्युट सञ्चालन गरेका छन्।

केही दिन पहिला रुपन्देहीमा भएको एक कार्यक्रममा प्रशिक्षकको रुपमा आएका कोहारले भने 'सानैमा राम्रो संग पढ्न पाएँ त्यही भएर अहिले जिविकोपार्जनका लागि कसैको मुख ताक्नुपरेको छैन।'

दुई पटकसम्म लोकसेवा आयोगको लिखित परीक्षामा नाम निकालेका उनी अन्तर्वार्तामा फालिएपछि उद्यममा लागेका थिए।

२०६८ सालमा स्थापित स्कुलमा ५ कक्षासम्म पढाई हुन्छ। ३ सय ५० जना विद्यार्थी अध्ययनरत यस स्कुलमा ८ जना शिक्षक शिक्षिका छन्।

अहिले विद्यालयबाट मासिक  ४० हजार, इन्स्टिच्युटबाट मासिक ४० हजार र सहकारीबाट बार्षिक २० हजार रुपैयाँ आम्दानी हुने कोहार बताउँछन्। उनी भन्छन् 'म जे चाहन्छु त्यो गरेर छोड्छु, पढाई प्रतिको लगाव सानै  देखि थियौं त्यही भएर यो स्थानसम्म आएँ।'

घर परिवारको सहयोगमा  ५ लाख लगानी गरी उनले अर्धपक्की भवनमा विद्यालय सञ्चालन गरेका छन्।  कोहार अपाङ्गता हुँदैमा केही  कमी नहुने भन्दै पढाईलाई निरन्तरता दिएमा समाजमा केही फरक काम गर्न सकिने बताउँछन्।

२८ बर्षका कोहार छिट्टै विद्यालयको स्तर उन्नति गर्ने योजनामा छन्‍। अपाङ्गता हुँदैमा कोही कमजोर र अशक्षम नहुने भन्दै उनले मिहिनेत गरेमा जो पनि सफल हुने बताए।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष देवीबहादुर पोखरेलले अपाङ्गता हुँदैमा अशक्षम नहुने भन्दै यसको लागि घर परिवार, समाजबाट  सार्थक सहयोग अपरिहार्य भएको बताउँछन्।

कपिलवस्तुको एक विद्यालयका शिक्षक पोखरेल पनि शाररिक अपाङ्गता भएका व्यक्ति हुन्। उनी भन्छन्–‘हामीलाई दया, माया भन्दा अवसरको आवश्यकता छ,  उचित अवसर पाएमा जोसुकै अपाङ्गता भएका व्याक्तिहरु पनि अघि बढ्न सक्छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell