PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘गलत समाचार’को पीडा : अम्बर गुरुङका छोरा सोध्छन्- ‘पारिवारिक स्रोत भनेको को हो?’



फणीन्द्र संगम

‘गलत समाचार’को पीडा : अम्बर गुरुङका छोरा सोध्छन्- ‘पारिवारिक स्रोत भनेको को हो?’

काठमाडौं : बिहान १० नबज्दै केही मिडियामा दु:खद खबर फैलियो- संगीतकार अम्बर गुरुङको निधन।
 
तिनै समाचारको भर परेर सामाजिक सञ्जालका केही प्रयोगकर्ताले पनि गुरुङलाई श्रद्धाञ्जली दिन थालिहाले।
 
काठमाडौंको धापासीस्थति ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका वरिष्ठ संगीतकार गुरुङको अवस्था के हो त? हामीले अस्पताल स्रोत, उनका आफन्त र सहयोगीहरुलाई निरन्तर सम्पर्क गरिरह्यौं तर पुष्टि हुन सकेन। उनीहरुबाट जवाफ आयो, ‘उहाँको अवस्था चिन्ताजनक नै छ। कामना गरौं स्वास्थ्यमा सुधार होओस्।’
 
त्यतिन्जेलमा केही राष्ट्रिय दैनिकका अनलाइन र अन्य अनलाइनले समेत गुरुङको ‘मृत्यु’को खबर पोस्ट गरिसकेका थिए। यही सूचनालाई आधार बनाउँदै सामाजिक सञ्जालमा सनसनी फैलिइसकेको थियो।
 
गुरुङको स्वास्थ्य अवस्थाबारे मिडियामा यस्तो समाचार आए पनि त्यसलाई न परिवारका सदस्यले पुष्टि गरे न त अस्पतालले।
 
भारतीय दूतावासले त संगीतकार अम्बर गुरुङलाई श्रद्धाञ्जली दिएर ट्वीट नै गर्‍यो। दिउँसो पौने २ बजे राखिएको ट्वीटर स्टाटसमा ‘भारतीय दूतावास प्रसिद्ध नेपाली संगीतकार श्री अम्बर गुरुङको दु:खद निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ' भन्दै दूतावासले लेख्यो।
 

गलत समाचारले दिएको पीडा


हामी सवा ११ बजेतिर ग्रान्डी अस्पताल पुग्दा दोस्रो तलामा रहेको अडिटोरियम हलमा गुरुङका आफन्त र शुभचिन्तकहरुको भिड बढ्दै थियो। त्यहाँको माहोल हेरेर हामी पुग्यौं- अस्पतालका सञ्चार अधिकृत विनोद अधिकारीको च्याम्बरमा।
 
एउटा कानमा ल्यान्डलाइन र अर्कोमा सेलफोनबाट जवाफ फर्काउनमै व्यस्त थिए उनी। बाहिर प्रवाहित गलत समाचारको तथ्यबारे खुलाउन उनलाई भ्याइनभ्याई थियो। थोरै समय निकालेर उनले भने, ‘कसरी मिडियाले यस्तो दु:खद समाचार लेखे? हामीलाई अचम्म लागेको छ। अम्बर गुरुङ हिजो जुन अवस्थामा हुनुहुन्थ्यो उहाँको उपचार सोही तरिकाले भइरहेको छ। बाहिर आएको समाचार झुटो हो।’
 
मुटुको गति गडबड भइरहेको र प्रेसरको अवस्था ‘मेन्टेन’ गर्न चिकित्सकहरु लागिरहेको उनले जानकारी गराए।
 
अडिटोरियम हलमा गायिका कुन्ती मोक्तान, संगीतकार शिलाबहादुर मोक्तान, फिल्म निर्देशक तुलसी घिमिरे, पोखराका कवि तीर्थ श्रेष्ठ, संगीतकार नारायण ओली लगायतका व्यक्ति आइसकेका थिए। पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला पनि केही बेरमा आएर गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।
 
मिडियामा आएको गलत समाचारप्रति गुरुङका परिवारमात्र नभई अस्पताल पुगेका शुभचिन्तकहरु तनावमा देखिन्थे। निरन्तर आइरहने फोन र मेसेजका कारण उनीहरुलाई थप पीडा दिइरहेको थियो।
 
यसबीचमा केही सञ्चारकर्मीहरु जम्मा भइसकेका थिए। लेखक तथा संगीत अनुसन्धाता प्रकाश सायमी र गुरुङका अन्य सहयोगी सञ्चारकर्मीलाई पछिल्लो अवस्थाबारे जानकारी गराउनमै व्यस्त देखिन्थे।
 
परिवारकै सल्लाहमा उपस्थित सञ्चारकर्मीलाई जानकारी गराउने कार्यक्रम तय भयो करिब २ बजेतिर। त्यतिन्जेलमा अमेरिकामा रहेका गुरुङका कान्छा छोरा शरद आइसकेका थिए। गुरुङकी पत्नी बिनासहित जेठो छोरा किशोर, माइला राजु र छोरी अलका पनि अस्पतालमै थिइन्।
 
‘उपचारमा लागिरहेका चिकित्सक, माया गरेर निरन्तर उपचार प्रक्रियाबारे जानकारी लिइरहने शुभचिन्तक, पत्रकारहरुप्रति आभारी छौं,’ लेखक प्रकाश सायमीले सञ्चारकर्मीहरुलाई जानकारी गराउँदै भने, ‘उहाँको अवस्था हिजोजस्तो जटिल नै छ तर बाहिर जुन समाचार आयो, त्यो निराधार हो।’ त्यही भ्रमपूर्ण समाचार चिर्नकै लागि परिवारको सल्लाहमा जानकारी गराउनुपर्ने आवश्यकता ठानेको उनले बताए।
 
‘हामी सबैले शुभेच्छा प्रकट गरिरहेका छौं। तपाईंहरुले पनि आधिकारिक र सत्य समाचार सम्प्रेषण गरिदिनुहोला,’ सायमीले भने, ‘गम्भीर अवस्थामै हुनुहुन्छ उहाँ, के थाहा कुनै मिराकल भइहाल्ला कि।’
 
छोरा राजुले पनि सामाजिक सञ्जाल र मिडियामा आएका समाचारको खण्डन गर्दै त्यस्तो खबरले आफूहरु दु:खी भएको बताए। ‘बुबा अहिलेसम्म जीवितै हुनुहुन्छ। उपचार कस्तो होला के होला भनेर हामी सबै चासो गरिरहेका छौं,’ उनले सञ्चारकर्मीमाझ भने, ‘कन्डिसन जटिल छ तर डाक्टरहरुले मेडिसिन चलाइरहनुभएको छ। आशा गरौं चाडैं निको हुनुहोओस्।’ पारिवारिक स्रोत उल्लेख गर्दै समाचार सम्प्रेषण गरिएकोमा पनि उनले आपत्ति जनाए।

'पोजेटिभ न्युज'को प्रतीक्षा गरौं

मिडियामा आएको मृत्युको खबर खण्डन गर्दै परिवारको तर्फबाट पछिल्लो अवस्थाबारे सञचारकर्मीलाई जानकारी गराएको झन्डै ३० मिनेटपछि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे पनि सञ्चारकर्मीमाझ उपस्थित भए।
 
‘मुख्य कुरो उहाँ अहिलेसम्म जीवित हुनुहुन्छ’ भन्दै कुरा थालेका उनले भने, ‘केही मिडियाले उहाँको जीवन नरहेको सूचना प्रवाह गरेछन्, यसप्रति म दु:खी छु, मेरो चित्त दुखेको छ।’
 
सिंगो अस्पताल, परिवारजन र गुरुङलाई माया गर्ने शुभचिन्तकहरु नै यस्तो समाचारले निकै दु:खी बन्न पुगेको भन्दै उनले 'कुरै नबुझी गलत सूचना प्रवाह हुनु दु:खद' भएको बताए।
 
‘उहाँको अवस्था नाजुक नै छ। मेडिसिनको सहयोगमा अक्सिजन दिएर उहाँको उपचार गरिरहेको छौं,’ उनले उपचार विधिबारे जानकारी दिए, ‘ब्लड प्रेसर घटबढ भइरहेकाले त्यसलाई ‘मेन्टेन’ गर्नका लागि ‌औषधि प्रयोग भइरहेको छ।’
 
यस्तो अवस्था 'मेडिकल साइन्सका लागि चुनौती' भएको समेत उनले बताए।
 
खाना नलीमा हालिएको स्टेन्ट फुस्किएर रक्तश्राव भएको र त्यो फोक्सोमा पुगेकाले थप समस्या आएको डा पाण्डेको भनाइ छ। ‘पहिले खाना नलीमा रोग देखा परेको थियो त्यसको कारण खाना निल्न समस्या थियो,’ उनले सुरुवाती समस्याबारे भने, ‘त्यसलाई उपचार गरेर सहज बनायौं।’ फोक्सोमा रगत पुगेपछि निमोनिया भएकाले श्वासप्रश्वासमा पनि समस्या देखापरेको पाण्डेले बताए।
 
ब्रिफिङको अन्त्यतिर 'पोजेटिभ न्युज आउने सम्भावना चाहिँ कम छ' भन्दै पाण्डेले भने, 'सबैले प्रार्थना गरौं। तर तथ्यपूर्ण समाचार प्रवाह गरिदिनुहोला।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell