PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​एमाले सचिव भट्टराई भन्छन् - कांग्रेसको समर्थन लिए प्रचण्ड प्रधानमन्त्री पक्का



पहिलोपोस्ट

​एमाले सचिव भट्टराई भन्छन् - कांग्रेसको समर्थन लिए प्रचण्ड प्रधानमन्त्री पक्का

काठमाडौं  : नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसको सहमति ल्याएमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन सक्ने बताए।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उनले माओवादीलाई कांग्रेसले समर्थन ल्याएमा  सरकार बनाउन एमाले बाधक नहुने बताए।

'तपाईंको नेतृत्वमा राष्ट्रिय सहमति हुन्छ भने नेपाली कांग्रेसको समर्थन कायम गर्नुस् नीति कार्यक्रम र बजेटपछि तपाईंकै नेतृत्वमा सरकार बन्छ भने पनि हामीलाई कुनै आपत्ति छैन, हामी यो बाचामा प्रतिवद्ध छौं' उनले भने 'म कमरेड प्रचण्डलाई भन्न चाहन्छु तपाईंको नेतृत्वमा राष्ट्रिय सहमति बन्ने सम्भावना छ भने प्रयत्न गर्नुस् हामीलाई कुनै पनि आपत्ति छैन, तर विना मौसम यो सरकार बदल्ने कुरा उपयुक्त होइन।'

सचिव भट्टराईले नेपाली कांग्रेस सहितको सरकार बन्ने अवस्था नभएमा यो समीकरणले निरन्तरता पाउने दावी गरे। अहिलेको समीकरण सरकार गठनका निम्ति मात्र नभइ नेपालमा एकीकृत कम्युनिष्ट पार्टी बनाउने पूर्वाभ्यास पनि हो भन्दै उनले प्रश्न गरे 'लामो दृष्टिकोण सहित बनाएको सरकार किन भत्काउने? यसले माओवादीलाई के फाइदा?'

अहिले संविधान कार्यान्वयनको बेला भएकाले एमालेले कांग्रेससँग पनि सहकार्य गर्न चाहेको भन्दै भट्टराईले कांग्रेसलाई यही सरकारमा आउन आग्रह गरे। 'कांग्रेस र हाम्रोबीच प्रतिस्पर्धा भएपनि प्रतिस्पर्धाका लागि मैदानमा गइहाल्ने बेला भएको छैन किनभने अहिले चुनावको घोषणा भएको छैन' उनले भने 'अहिले पनि मुख्य राजनीतिक शक्तिहरुबीच सहमति आवश्यक छ, नेपाली कांग्रेस कालो कोठाभित्र बसेर अनेक शक्तिहरुसँग चलखेल गर्दै समीकरण बदल्ने काममा नलागोस्।'

अहिलेको सरकारले नाकाबन्दीबाट उत्पन्न परिस्थिति साम्य बनाएको, मधेस आन्दोलनको व्यवस्थापन गरेको र छिमेकीहरुसँगको सम्बन्ध सन्तुलनमा राखेको दावी गर्दै भट्टराईले प्रश्न गरे 'जब यो सरकारले एक पछि अर्को गर्दै परिस्थितिलाई सामन्यीकरण गरिरहेको छ भने किन चाहियो अर्को सरकार?, के मुलुकमा यो भन्दा राम्रो सरकार आउन सक्छ?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell