PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

अमर रहनेछन् अम्बर : राष्ट्रिय गान र कम्पोज गरेका हजार गीतहरुमा



उमेश श्रेष्ठ

अमर रहनेछन् अम्बर : राष्ट्रिय गान र कम्पोज गरेका हजार गीतहरुमा

काठमाडौँ : संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङले भौतिक शरीर ७९ वर्षको उमेरमा मंगलबार बिहान २ बजेर ३७ मिनेटमा त्यागेको घोषणा अस्पतालले गरे पनि राष्ट्रिय गान तथा हजार वटा जति कम्पोज गरेका गीतहरुमा उनी अमर नै रहिरहने छन्।

अम्बरको बास अब अम्बरमा रहे पनि ती कम्पोज गरिएका हजार गीत मध्ये ६/७ सय वटा गीतमा उनकै स्वर सुन्न पाइनेछ जसमा शब्द पनि उनकै छ। 

पूर्वीय संगीतमा पश्चिमा शैलीको आभास दिलाई ट्युनिङ गर्न सक्ने खुबी भएको एक मात्र संगीतकारलाई राजा महेन्द्रले २०२६ सालमा नेपाल फर्काएका थिए।

पुर्ख्यौली घर गोरखाको रिसिङ भएका उनको जन्म भारतको दार्जिलिङको लालढिकीमा भएको हो। उनका बुबा र हजुरबुबा भारतीय सेनाको जागिरे थिए।

महेन्द्रले बोलाएको भरमा नेपाल फर्कने धेरैजसोले राजासँग घर,जग्गा, सम्पति मागे। तर संगीत नै ठूलो सम्पति ठानेर बस्ने अम्बरले धर्तीका सानातिना कुरा माग्ने मन कहिल्यै गरेनन्। र त, उनीसँगै नेपाल आएकाहरु कहाँबाट कहाँ पुगे, उनी जीवनको अन्तिम समयसम्म बूढानिलकण्ठमा भाडाको घरमै बसिरहे जसको भाडा परदेशमा बस्ने उनकी छोरी अलकाले तिर्दै आएकी थिइन्।  

प्रतिबन्ध लगाउनु पर्ने गीत

'ए कान्छा, मलाई सुनको तारा खसाई देऊ न' जस्ता रोमान्टिक गीतदेखि 'हाँस्ने रहरहरु आँसुमा डुबे, सुन्दर सपना शिशा झैँ फुटे..' सम्मका वियोगान्त गीतको संगीत उनले भरेका छन्।

​५५ वर्षअघि भारतको सरकारी अल इन्डिया रेडियोले एउटा गीतमा प्रतिबन्ध लगाएको थियो, 'नौ लाख तारा उदाए...।' 'घरको माया बिर्सेर किन पो यहाँ आयौ नि', 'मनको आगो निभाउन किन पो यहाँ आयौ नि'  जस्ता अर्थपूर्ण शब्द भएका कारण गीतलाई भारतले प्रतिबन्ध लगाएको थियो। यसको संगीत उनैले भरेका थिए।
 

मानार्थ कर्णेल अम्बर

नेपालको अनअफिसियल राष्ट्रगानका रुपमा रहेको गीत छ- रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो। यो गीतको कम्पोजिसन यस्तो छ कि सुन्ने बित्तिकै रगत तात्छ। देशप्रेम उर्लन्छ। त्यसैले फुटबल र क्रिकेट खेलाडीहरु खेल अघि र पछि टिम भावना जगाउन सँधै यही गीत गाउँछन्-

हिमाल झैँ अटल यो
झुकेन यो कहिले
लत्रेन यो कहिले
जंगी निशान हाम्रो
....हारेन शान हाम्रो

 
सेनाले पनि यही गीतलाई सैन्य धुन (लोगो सङ्ग) बनाएको छ। यो गजबको धुन रच्ने अम्बरलाई नेपाली सेनाले पाँच वर्षअघि मानार्थ कर्णेल (महासेनानी) को उपाधि दिएको थियो। 

यो जिन्दगीको के कुरा..

गुरुङ माघ १४ गते उपचारका लागि भारतको मेदान्त अस्पताल पुगेका थिए। 'खाने नलीको तल्लो आन्द्रामा ट्युमर देखिएको' चिकित्सकहरुको ठहर थियो।

यसलाई रेडियो र किमोबाट कम गराउने प्रयास भएको थियो आन्द्रामा स्टेन्ट राखेर दुई महिनाको उपचारपछि गएको चैत १७ गते उनी स्वदेश फर्किएका थिए।

फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आफूलाई पर्खिरहेका सुभेच्छुक र पत्रकारलाई राष्ट्रगानका संगीतकार अम्बर गुरुङले मुस्कुराउँदै सानो स्वरमा भनेका थिए, '‘म निको भएर फर्किएँ। सबैलाई धन्यवाद। केही समय आराम गर्छु र फेरि तपाईँहरुको सेवामा फर्किन्छु।‘ 

फलोअपका लागि उनी पुनः मेदान्त जानु पर्ने त्यतिबेलै छोरा राजु गुरुङले भनेका थिए। तर खानेकुरा खानेबित्तिकै बान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अस्पताल लगिएको थियो। मेदान्तमा हुँदा आन्द्रामा राखिएको स्टेन्ट फुस्किएपछि उनलाई अझै गाह्रो भएको थियो। 

लामो समयदेखि मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराइरहेका गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) को उपचारकालागि भर्ना गरिएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए।

उनलाई गएको शुक्रबारदेखि कृत्रिम श्वासप्रश्वास दिई भेन्टिलेटरमा राखिएको थियो। सोमबार बिहान उनको मृत्युको हल्ला चल्दा परिवारजन कान्छा छोरा शरद् अमेरिकाबाट फर्कने प्रतीक्षामा थिए। उनी हिजोमात्रै नेपाल फर्किएका हुन्। 

अम्बर गुरुङ अमर भए। भौतिक शरीर छाडे पनि उनले आफ्नै आवाजमा भनिरहेका छन्-
म दूर भएर के भो
अभिशाप छाएर के भो
यति रोए जिन्दगीमा
कि फेरि रोएर के भो 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell