PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

​सङ्गीतकार गुरुङको हिन्दू र बौद्ध दुवै परम्पराबाट अन्येष्टि



रासस

​सङ्गीतकार गुरुङको हिन्दू र बौद्ध दुवै परम्पराबाट अन्येष्टि

काठमाडौं  : सोमबार राती निधन भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ।

उनको शव मंगलबार बिहान १०:५१ बजे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नेपाल प्रज्ञा–प्रतिष्ठान लगिने छ। त्यहाँ अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिने उनका माहिला छोरा राजुले जानकारी दिए। उनले भने, “बुबाको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने छ। अन्तिम संस्कार हिन्दू र बौद्ध दुवै विधिबाट हुनेछ। 

अहिले ग्रान्डी अस्पतालमा सङ्गीतज्ञ गुरुङलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न क्षेत्रका व्यक्ति आउने क्रम जारी छ। भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको निधन भएको हो। उनी गत हप्तादेखि ग्रान्डी अस्पतालमा उपचारत थिए। यसअघि उनको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो। 

विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा जन्मिएका गुरुङ प्रवासमा जन्मेर नेपाल आई नेपाली गीतसङ्गीतमा योगदान गरे। उनको पहिलो गीत ‘नौलाख तारा उदाए...’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो। विसं २०२४ मा नेपाल आएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गरेका थिए। २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित भएका थिए।

‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई गुरुङले सङ्गीतबद्ध गरेका थिए। त्यस्तै ‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उनले सङ्गीत भरेका नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले बताए।  

त्यसैगरी उनले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए..., ‘म अम्बर हुँ, तिमी धर्ती...’ लगायत करिब ५०० गीतमा सङ्गीत भरेका थिए। गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त गुरुङलाई जनजीवनमा ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो। सरकारले उनलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो। 

नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भरेका थिए भने छ/सात सय गीत उनकै शब्द र स्वरमा रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell