PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संगीतज्ञ अम्बर गुरुङको पार्थिव शरीर एकेडेमीमा, तीन बजेपछि शवयात्रा



फणीन्द्र संगम

संगीतज्ञ अम्बर गुरुङको पार्थिव शरीर एकेडेमीमा, तीन बजेपछि शवयात्रा

काठमाडौँ : अन्तिम दर्शनका निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएका संगीतज्ञ अम्बर गुरुङलाई दिउँसो ३ बजे पशुपति आर्यघाट लगिने भएको छ।
 
गएराति २ बजेर ३७ मिनेटमा काठमाडौंको ग्रान्डी अस्पतालनमा निधन भएका अम्बरको पार्थिव शरीरलाई बिहान १०:५१ मा त्यहाँबाट हिँडाइएको थियो। ११:२० प्रतिष्ठान ल्याएपछि उनलाई अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ। गीत-संगीतकर्मी, कलाकार, प्रतिष्ठानका प्राज्ञ, मन्त्रीहरु, पूर्व सभामुखहरु तथा सेना र प्रहरीका उच्च अधिकारी लगायत शुभेच्छुकहरुले श्रद्धाञ्जली दिने क्रम अहिले पनि जारी छ।
 
श्रद्धाञ्जलीको कार्यक्रमपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट पुर्‍याइने अम्बरका सहयोगी रतन चन्दले जानकारी दिए। उनका अनुसार हिन्दु र बौद्ध दुवै विधिअनुसार अन्तिम संस्कार हुनेछ।
  
विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा उनको जन्म भएको थियो। प्रवासमा जन्मेर नेपाली संगीतमा योगदान गरिरहेका उनको पहिलो गीत ‘नौलाख तारा उदाए’ सन् १९६१ मा कोलकातामा रेकर्ड भएको थियो। तत्कालीन राजा महेन्द्रले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका जागिर खान ०२४ सालमा नेपाल बोलाएपछि उनको नेपाल आगमन भएको हो। २०२६ देखि भने उनी प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा नियुक्त भए। २०३८ सालदेखि संगीतका गुरु नै भएर प्रशिक्षणमा लागिसकेका संगीतका अनुसन्धाता तथा लेखक प्रकाश सायमीले बताए।

२०२७ सालमा गोरखा दक्षिण बाहुद्वारा विभूषित अम्बरले नेपाल आएपछि एकेडेमीमार्फत विजय मल्ल, सत्यमोहन जोशी लगायतका केही नाटकमा संगीत दिएका थिए।
 
शाही नेपाल चलचित्र संस्थानले बनाएको ‘मनको बाँध’मा पार्श्व संगीत दिएका उनले ‘जीवन रेखा’, ‘मेरो देश’, ‘सपना कतिपय’, जस्ता चलचित्रमा पनि संगीत गरे। ‘त्यसअघि चलचित्रमा एकल संगीतको परम्परा थिएन,’ फिल्म निर्देशकसमेत रहेका लेखक सायमी भन्छन्, ‘उहाँबाटै त्यसको सुरुवात भयो।’
 
‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उलने संगीत भरेका थिए।

दिवंगत अम्बरका पत्नी, तीन छोरा र एक छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell