PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

‘पहिलेकै अम्बर ब्युँतिएर आइदिए हुन्थ्यो’



फणीन्द्र संगम

‘पहिलेकै अम्बर ब्युँतिएर आइदिए हुन्थ्यो’

काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान (एकेडेमी) को डबलीमा राखिएपछि अन्तिम संस्कारका लागि वरिष्ठ संगीतकार अम्बर गुरुङको पार्थिव शरीरलाई पशुपति आर्यघाट लगिएको छ। उनलाई श्रद्धाञ्जली दिन विभिन्न क्षेत्रका स्रष्टा, गीत-संगीतकर्मी, कलाकार, प्रतिष्ठानका प्राज्ञ, मन्त्रीहरु, पूर्व प्रधानमन्त्री, पूर्व सभामुखहरु तथा सेना र प्रहरीका उच्च अधिकारीका साथै शुभचिन्तकको भिड लागेको थियो।
 
अन्तिम श्रद्धाञ्जलीका लागि आइपुगेका केही व्यक्तिसँग संगीतकार अम्बर गुरुङका बारेका छोटो कुराकानी गरिएको छ। उनीहरुको भनाइ जस्ताको तस्तै:

  • वैरागी काइँला, पूर्व कुलपति- नेपाल प्रज्ञा प्रतिष्ठान
उहाँले मेरा ५/६ वटा गीतमा संगीत भर्नुभयो। सबै गीतको शब्द सम्झन पनि सकिरहेको छैन अहिले। ‘आए सबै याद आए’ भन्नेचाहिँ रेकर्डमा छ, त्यो सुनेको पनि छु। अर्को मेरो शब्दको गीत छ ‘मेरो दु:खी मन’, जुन शान्ति ठटालले गाएकी हुन्। ‘औंलाहरु चुमेर औंलासरि सलाम’ अनि ‘खोजिरहेछु निश्चल प्यार’बोलको गीत मैले नै लगेर उहाँलाई बुझाएको हुँ। कति रेकर्ड भए कति भएनन् होला। ‘स्याउली राखी सुकिजाला’ गीत पनि आएको छ रे, अरुले सुनेछन्।

अम्बर गुरुङ संगीतकार नभएको भए शक्तिशाली कवि पक्कै हुने थिए। संगीतको त म ज्ञाता होइन तर संगीतभन्दा पनि उहाँका शब्द अति शक्तिशाली लाग्छन्। संगीतको इतिहासको सबै ज्ञान थियो उहाँमा। अब त उहाँको भौतिक शरीर छैन। नेपाली सांगीतिक क्षेत्रले अम्बर गुरुङको क्षतिलाई पूर्ति गर्न धेरै समय लाग्नेछ।
 
  • गणेश रसिक, सदस्य सचिव नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठान
उहाँ एकेडेमीमा हुँदा म राष्ट्रिय नाचघरमा थिएँ। त्यसैले पनि हाम्रो उतिसाह्रो घुलमिल र निकटता हुन पाएन। उहाँ आफ्ना समकालीन भूपि शेरचन, शंकर लामिछानेहरुसँगै नजिक रहुनभयो। हामीभन्दा सिनियर भएकाले पनि होला छिट्टै घुलमिल हुने खालको चाहिँ पाइनँ मैले। चेलाकै रुपमा गएको भए हुन्थ्यो पनि होला तर त्यो अवसर मिलेन।

संगीतको क्षेत्रमा पूर्वीय र पाश्चात्य संगीतकै राम्रो ज्ञान थियो उहाँमा। आफैं राम्रो गीतकार, गायक पनि हो। सबै वाद्यवादनमा उहाँको खुबी थियो। त्यस बेलाका नातिकाजी, बच्चुकैलाश, गोपाल योञ्जनभन्दा पनि उहाँको संगीत एकदमै पृथक् छ। एरेन्जमेन्टमा पनि हाइ लेभलका कर्ड र सुर प्रयोग गरेकाले पनि हुन सक्छ, तिनमा मौलिकपन छ। सुन्दा अरुभन्दा अलि क्लिष्ट हो कि भन्ने मलाई लाग्छ।

उहाँका अझ राम्रा गीतहरु छन् केही, जुन सार्वजनिक भएका छैनन्। अब खोजी होला पनि। उहाँको मौलिकपनबाट नयाँ पुस्ताका संगीतकारले धेरै कुरा सिक्नुपर्छ।
 
 
  • प्रचण्ड मल्ल, नाट्यकर्मी
एकेडेमीमा म संगीत/नाटक प्रमुख हुँदा उहाँ संगीत निर्देशक हुनुहुन्थ्यो। २०२६/०२७ सालको कुरा हो त्यो। त्यस बेला हामी धेरै नजिक भयौं। स्वभावको हिसाबले एकदमै सरल, मिठासपूर्वक बोल्ने समकालीनसँग घुलमिल भएर रमाइलो गर्ने गर्नुहुन्थ्यो। उत्तिकै कालजयी संगीत सिर्जना गर्नुभयो। उ: त्यहाँ (डबलीमा राखिएको पार्थिव शरीरलाई देखाउँदै) छ उहाँको शव तर फेरि पनि अम्बर बिउँझिएर आइदिए हुन्थ्यो जस्तो लागेको छ। उहाँकै अनुहार नभए पनि कुनै अर्को स्वरुपमा पहिलेको अम्बर बनेर आइदिए कति खुसी हुने थियौं।

पुरानो कुरा सम्झन्छु- एकपटक मैले निर्देशन गरेको ‘फर्केर हेर्दा’ नाटकमा उहाँले नै संगीत भर्नुभयो। त्यो नाटकले यति धेरै कमायो कि संगीतकै कारणले जस्तो लाग्छ। पछि त्यही कमाएको पैसाले एकेडेमीका कुलपतिले गाडी नै किन्नुभयो (हाँस्दै)।

स्रष्टाहरुलाई सरकारले बेवास्ता गर्छ भन्ने हामी सुनिरहेका छौं। उहाँलाई जेजति सरकारले गरेकै छ जस्तो लाग्छ। उपचार खर्च भनेर मासिक ३० हजार पनि दिइरहेकै छ। स्रष्टाको सिर्जनालाई अमर बनाइराख्न संरक्षण गर्न केही गर्नुपर्छ। अम्बर गुरुङबारे अनुसन्धानका कुरा होलान् कतिपय ठाउँमा शालिक बनाउने कुरा होलान्, ती सबैलाई ध्यान दिएर अमर बनाउनेतिर पनि राज्य लाग्नुपर्छ।
 
  • व्याकुल माइला, राष्ट्रगानका रचयिता
राष्ट्रिय गान तयार गर्ने बेला उहाँको टीमले केही धुन तयार पारेको रहेछ। त्यो क्रममा उहाँले मलाई पटकपटक बोलाएर कुन धुन ठिक छ, कुन छैन भनेर सुनाउनुहुन्थ्यो। उहाँको त्यसखालको अभिभावकत्व र सामीप्य म अहिले पनि सम्झिरहेको छु।

अस्ति दिल्लीबाट फर्कंदा मलाई फोन गरेर ‘कस्तो छ स्वास्थ्यलाई’ भनेर सुरुमै सोध्नुभयो, जबकि उहाँ नै त्यतिको अस्वस्थ अवस्थामा हुनुहुन्छ। नेपाली संगीतमा निरन्तर रुपमा साधनारत उहाँले देशलाई र यहाँको संगीतलाई उचाइ थप्न ठूलो योगदान गर्नुभएको छ।

राज्य तहबाट जेजति गरेकै छ जस्तो लाग्छ। अझै पनि उहाँका सिर्जनालाई जीवित बनाइराख्न संरक्षणतर्फ पनि सरकारले विशेष ध्यान पुर्‍याउन जरुरी देखिन्छ।
 
  • राजेन्द्र थापा, गीतकार
मैले ‘पोहोर साल खुसी फाट्दा’ गीत लेखेपछि २०३३ सालदेखि नै हामी प्रत्यक्ष जोडियौं। पछि ०३५ मा प्रेमध्वज प्रधानले गाएको मेरो गीत ‘तारा खसेछ’ मा पनि उहाँले संगीत दिनुभयो। यसपछि त उहाँ र मेरो सम्बन्ध अझ निकट बन्दै गयो।

अम्बर गुरुङलाई कसैले गायक, कसैले संगीतकार त कसैले रचनाकारका रुपमा बुझ्छन्। म भन्छु- अम्बर गुरुङ नेपाली संगीतको त्रिशूल हो। त्यो त्रिशूलमा गोपाल योञ्जन र नातिकाजी पनि जोडिन्छन्।

उहाँको अन्त्य भए पनि गीतसंगीतले जीवन्त राखिरहनेछ।

वसन्त सापकोटा, संगीतकार
हामीले नौलाख तारा उदाए गीतबाट चिनेका अम्बर गुरुङलाई राष्ट्रगानका संगीतकारसम्म चिनिरह्यौं। नौलाख तारा जुन फर्म्याटमा छ अहिले पनि हामीले त्यसैलाई आधार बनाएर संगीत गरिरहेका छौं। यसले नै त्यो गीतको लोकप्रियतालाई प्रस्ट पार्छ।

म उहाँभन्दा पछिल्लो छिमलको भएकाले प्रत्यक्ष त सिक्ने अवसर पाइनँ तर उहाँका सिर्जनाले मलाई निरन्तर प्रेरणा दिइरहेका छन्।

उहाँसँगको भेटमा भन्नुहुन्थ्यो- संगीत भनेको कालजयी हुनुपर्छ र मनैदेखि सन्तुष्ट भएपछि मात्र बाहिर ल्याउनुपर्छ। त्यो उहाँको भनाइ मेरो लागि ऊर्जा बनेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell