
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताएका छन्।
सगरमाथा आरोहीलाई राखेको सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्रीले झुटो सपना बाँड्दै हिँडेको आरोप लगाए।
‘संविधान कार्यान्वयन गरेर स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्नुछ,’ उनले भने, ‘प्रधानमन्त्री सर्भे नै नगरी रेल कुदाउँछु, घरघरमा तेल र ग्यास ल्याउँछु भन्छन्, यस्तो झुटो आरोपले देश चल्दैन।’
सभापति देउवाले वर्तमान सरकारले जनताबाट उठेको कर र विदेशबाट आएको पैसा भूकम्पपीडितको नाममा गैरसरकारी क्षेत्रमार्फत बाँडेर दुरुपयोग गरेको समेत बताए।
सङ्खुवासभा मकालु गाविसका एकै परिवारका तीन सगरमाथा आरोहीलाई आज सम्मान गरिएको छ। लाक्पा शेर्पा, मिङ्मा गेलु शेर्पा र मिङ्मा किपा शेर्पा सम्मानित भएका हुन्।
सोही कार्यक्रममा बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले संविधान कार्यान्वयनलाई छाडेर प्रतिनिधिसभाको चुनाव गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे।
कांग्रेस केन्द्रीय समितिको बैठकबारे बसेर समीक्षा गर्नु आवश्यक रहेको समेत उनले स्पष्ट पारे।