
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को चीन भ्रमण जेठ २८ गतेदेखि हुने भएको छ।
बुधबारको मन्त्रिपरिषद बैठकले चीन भ्रमणबारे निर्णय गरेको हो। जेठ २८ गतेदेखि असार २ गतेसम्म उपराष्ट्रपति पुनले चीनको औपचारिक भ्रमण गर्नेछन्।
उपराष्ट्रपति भएपछि पुनको यो पहिलो विदेश भ्रमण हो।
यस्तै आजकै बैठकले दोस्रो जनआन्दोलनमा घाइते सिन्धु उप्रेतीलाई उपचारका लागि आर्थिक सहयोग गर्ने पनि निर्णय गरेको छ। थाइल्यान्डमा उपचार गराउँदै आएकी उप्रेतीको स्वास्थ्य उपचारका लागि १६ लाख ५६ हजार सहयोग उपलब्ध गराउने बैठकको निर्णय छ। नेपाली राजदूतावासमार्फत सो रकम उपलब्ध हुनेछ।
सरकारले विज्ञान मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिँचाइमा र सिँचाइ सचिव अनुपकुमार उपाध्यायलाई विज्ञान मन्त्रालयमा सरुवा गरेको छ। स्वास्थ्य सेवाको ११ औं तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा समेत गरिएको छ।