लहान : सिरहाको मिर्चैया नगरपालिका–७ मा बम विस्फोट गराउँदै लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
गत जेठ १ गते बिहान भएको लुटपाटका मुख्य योजनाकार सर्लाहीको नेत्रगन्ज–२ निवासी ५५ वर्षीय रुकुम पासवान सहितलाई पक्राउपछि सार्वजनिक गरिएको हो।
पक्राउ पर्नेमा धनुषाको ठाडी झिझैं–१ निवासी विनयकुमार पासवान, सर्लाही हरिवन–२ का नन्दकिशोर पासवान, सिरहाको लड्कनाहा कर्जनाहा–१ का रामशरण रौपाल, कर्जनाहा–१ का वीरेन्द्र पासवान र सोही ठाउँकी सङ्गीता पासवान छन्।
उनीहरुको साथबाट ल्यापटप, मोबाइल सेट, कालो रङको टेप, लुटेको रकम, घटनामा प्रयोग भएको एक थान बन्चरो, एक थान छिनो, दुई थान काचो लाँठी, एक थान हाते ब्यागसहित अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयामा आयोजित पत्रकार सम्मेलनमा सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले प्रहरी प्रधान कार्यालय केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सिआइबी), पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले मुख्य योजनाकार लगायतलाई पक्राउ गर्न सफल भएको बताए।
सो लुटपाटमा संलग्नमध्ये अन्य अभियुक्त फरार रहेको र भारतीय प्रहरीसँग समेत समन्वय गरेर खोजी भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी गराए।