चितवन : पर्यटकीय नगरी सौराहामा गैँडाको आक्रमणबाट आज एक विदेशी पर्यटकसहित दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार डेनमार्कका नागरिक २३ वर्षीया लाउरा बेच र पर्यटकका पद प्रदर्शक रत्ननगर–१९ का १८ वर्षीय कुमार थापा गैँडाको आक्रमणबाट घाइते भएका हुन्।
निकुञ्जमा घुम्न जाने क्रममा रत्ननगर १८ मा रहेको होटल बटर फ्लाई नजिकै उनीहरुलाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
गैँडाको आक्रमणबाट डेनमार्कका नागरिक बेचको कम्मरमा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी, नेचर गाइड थापाको दायाँ हात भाँच्चिएकाले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस