
दुई गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा कोपा अमेरिका सेन्टेनारिया अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा पेरु इक्वेडरसँग बराबरीमा रोकिएको छ।
अरिजोनास्थित फोएनिस्क स्टेडियममा भएको खेलमा पेरु र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। ग्राबियल एसिलिएरले दोहोरो पहेँलो कार्डको सामना गरेपछि इक्वेडरले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।
बराबरीले दुवै टीमलाई घाटा लागेको छ। पेरुले खेल जितेको भए एक खेल अगावै क्वार्टरफाइनल पुग्ने थियो भने इक्वेडरले जितेको भए क्वार्टरफाइनल पुग्ने सम्भावना बढी हुन्थ्यो। यद्यपि दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना भने बाँकी नै छ।
पाँचौ मिनेटमै क्रिस्टियन क्युभाले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए। १३ औं मिनेटमा एडिसन फ्लोरेसले गोल गर्दै पेरुको अग्रता दोब्बर पारे। तर पेरुले अग्रताको खुसीयाली लामो समय मनाउन पाएन।
३९ औं मिनेटमा इक्वेडरका एनर भ्यालेन्सियाले गोल गर्दै खेल २–१ को स्थितिमा पुर्याए। पहिलो हाफमा एक गोलले पछि परेको इक्वेडरले दोस्रो हाफको सुरुमै गोल थप्यो। ४९ औं मिनेटमा मिलर बोलानोसले गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन सकेन र २–२ को बराबरी खेल्दै पेरु र इक्वेडरले एक एक अंक बाँडे । बराबरीपछि पेरुको दुई खेलबाट ४ अंक भएको छ भने लगातार दोस्रो बराबरी पछि इक्वेडरको २ अंक छ।
यता बिहिबारै भएको पहिलो खेलमा हाइटीलाई ७–१ ले पराजित गरेको ब्राजिलको पनि ४ अंक नै छ र समुह बी को शीर्ष स्थानमा छ । इक्वेडरले पहिलो खेलमा ब्राजिलसँग गोलरहित बराबरी खेलेको थियो ।
अब समुह बी को अन्तिम खेलमा ब्राजिलले पेरुसँग खेल्नेछ भने इक्वेडरले हाइटीसँग खेल्नेछ।