
काठमाडौं : क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक कमाउने खेलाडी बनेका छन्। अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको एक सय खेलाडीको सूचीअनुसार रियल मड्रिड स्टार रोनाल्डोले धेरै कमाइ गर्नेमा सबैलाई पछि पारेका हुन्।
गत वर्ष यस सूचीको तेस्रो स्थानमा रहेका रोनाल्डो बक्सिङका फ्लोड मेवेदर र मानी पाकियोलाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन्।
८८ मिलियन अमेरिकी डलर कमाइ गरेका रोनाल्डोले इन्डोरसमेन्टबाट मात्रै ३२ मिलियन डलर आर्जन गरेका थिए। उनको खेलबाट प्राप्त हुने रकम ५६ मिलियन डलर रहेको छ।
गत वर्ष शीर्ष स्थानमा रहेको मेवेदर १६ औं स्थानमा झरेका छन् भने पाकियो ६३ औं स्थानमा पुगेका छन्।
सर्वाधिक कमाउने खेलाडीको सूचीको दोस्रो स्थानमा अर्का फुटबलर लियोनल मेसी रहेका छन्। कुल ८१.४ मिलियन अमेरिकी डलर आर्जन गरेका मेसीको खेल बापतको आम्दानी ५३.४ मिलियन तथा इन्डोरसमेन्टबाट २८ मिलियन डलर रहेको छ।
यस्तै तेस्रो स्थानमा बास्केटबल खेलाडी ले ब्रोन जेम्स रहेका छन्। इन्डोरसमेन्टबाट मात्रै ५४ मिलियन डलर कमाइ गर्ने जेम्सको कुल आर्जन ७७.४ मिलियन छ। खेलबाट भने जेम्सले २३.२ मिलियन आर्जन गर्छन्।
सर्वाधिक कमाइ गर्ने खेलाडीको चौथो स्थानमा टेनिसका रोजर फेडेरर छन्। इन्डोरसमेन्टबाट ६० मिलियन डलर कमाएका फेडेररले खेलबापत भने ७.८ मिलियन मात्र आर्जन गरेका छन्।
सर्वाधिक कमाइ गर्ने सूचीको पाँचौ स्थानमा बास्केटबलका केभिन डुरान्ट छन्। छैटौ स्थानमा टेनिसका नोभाक जोकोभिच, सातौंमा अमेरिकन फुटबलका काम न्युटन, आठौंमा गल्फका फिल मिकेलसन, नवौंमा गल्फकै जोर्डन स्पिथ र दसौं स्थानमा बास्केटबलका कोब ब्रायन्ट रहेका छन्।
जोर्डन स्पिथ शीर्ष एक सयभित्र पर्ने सबैभन्दा कान्छा खेलाडी समेत हुन्। यस्तै उक्त सूचीमा टेनिसकी सेरेना विलियम्स र मारिया सारापोभा दुई जना मात्र महिला खेलाडी परेका छन्।