
काठमाडौं : नेकपा माओवादीको विप्लव समूहले आवह्वान गरेको बन्दका क्रममा तोडफोड तथा आगजनी गर्ने र बन्द गराउँदै हिँड्ने ६७ जना विभिन्न ठाउँबाट पक्राउ परेका छन्।
काठमाडौंबाट २८ जना, ललितपुरबाट १४, भक्तपुरबाट ३, कास्कीबाट ८, चितवनबाट १, कालीकोटबाट १० र सुनसरीमा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौंको तीनकुने मुनिभैरव नजिकै बन्दकर्ताले बा१ज ८२०६ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन्। कलंकी जान्छु भनी चढेका २ जनाले बिहान साढे ३ बजेतिर बोतलबाट पेट्रोल निकालेर आगजनी गरेको चालक सुवास परियारले बताएका छन्। ट्याक्सी जलाउने विप्लव माओवादी समर्थक ट्रेड युनियनका अध्यक्ष योगन्द्र कुमाललाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौका एसएसपी विक्रमसिह थापाले पहिलोपोस्टलाई बताए।
आगजनीबाट ट्याक्सीको भित्रीभाग पूर्णरुपमा जल्नुका साथै सबै सिसा फुटेका छन्।
यस्तै तार्केश्वर नगरपालिका–२० मनमैजुमा बा१ज ८१३० नम्बरको माइक्रोबसमा ढुंगा प्रहार गर्दा अगाडि र छेउतिरको सिसा फुटेका छन्।
बन्दकर्ताले त्रिपुरेश्वरमा बा३ख २२२७ नम्बरको साझा बसमा ढुंगा प्रहार गरी क्षति पुर्याएका छन्। वीर अस्पतालअघि ट्याक्सी र कलंकीमा रात्रिबसमा समेत ढुंगा प्रहार गरेका छन्।
उता सुनसरीमा ना५ख २७१२ र ना४ख ७४०६ नम्बरको रात्रि बसमा ढुंगा प्रहार गर्दा बसको साइडको सिसा फुटेर क्षति भएको छ। चितवनमा ना५ख १८२९, ना५ख ६२८८ र मे१ख २२२२ नम्बरको बसमा ढुंगा प्रहार गर्दा बसको सिसामा क्षति पुगेको प्रहरीले जनाएको छ।
झापा शान्तिनगर–१ स्थित मेची राजमार्गमा पनि गोलिया बोकेको ना३ख ४६७१ नम्बरको ट्रकमा हातमा खुकुरी र डण्डा बोकेका १५/१६ जनाको समूहले आगजनी गर्दा ट्रकको अगाडिको भाग जलेर क्षति भएको छ। सोही समूहले पोखराबाट इलाम पशुपतिनगरतर्फ पर्यटक बोकी जाँदै गरेको ग१प १७२ नम्बरको बसमा ढुंगा प्रहार गरी क्षति पुर्याएको छ।
बन्द सफल पारौ भन्दै माइकिङ गर्ने, पर्चा टाँस्ने र मसाल बाल्न खोज्ने झापामा ८ जना, सिन्धुलीमा १९ जना, बर्दियामा २ जना, बाँकेमा १ जना, काभ्रेमा १ जना र चितवनमा २ जना गरी ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।