PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

कोपा अमेरिका: १५ पटकको विजेता उरुग्वे समूह चरणबाटै आउट, मेक्सिको र भेनेजुएला क्वाटरफाइनलमा



पहिलोपोस्ट

कोपा अमेरिका: १५ पटकको विजेता उरुग्वे समूह चरणबाटै आउट, मेक्सिको र भेनेजुएला क्वाटरफाइनलमा

काठमाडौं : सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे कोपा अमेरिका सेन्टेनारियोको समूह चरणबाटै बाहिरिएको छ।
 
पहिलो पटक अमेरिकामा चलिरहेको ४५ औं संस्करणको प्रतियोगितामा लगातार दोस्रो खेल हारेपछि उरुग्वेको चुनौती समूह चरणबाटै समाप्त भएको छ। शुक्रबार बिहान भएको समूह सीको खेलमा खेलमा भेनेजुएलासँग १–० ले पराजित भएपछि लगातार दोस्रो हार बेहोर्दै उरुग्वे समूह चरणको एक खेल बाँकी छँदै बाहिरिएको हो।
 
दोस्रो खेलमा पनि लुइस सुवारेजको साथ नपाएको उरुग्वेका लागि डिएगो गोडिन, एडिनसन काभानी, जोस गिमिनेज जस्ता स्टार खेलाडी चल्न नसक्दा भेनेजुएलासँग स्तब्ध भएको हो। चोटका कारण सुवारेजले दोस्रो खेल पनि बेन्चमै बसेर हेरेका थिए।
 
शुक्रबारै भएको समूह सी को अर्को खेलमा मेक्सिकोले जमैकालाई हराएपछि उरुग्वेको दोस्रो चरण प्रवेश गर्ने सम्भावना औपचारिक रुपमै सकिएको हो। पहिलो खेलमा मेक्सिकोसँग ३–१ ले हारेको मेक्सिको दोस्रो खेलमा भेनेजुएलासँग १–० गोल अन्तरले पराजित हुन पुग्यो।
भेनेजुएलालाई जित दिलाउन ३६ औं मिनेटमा जोस सालोमाने रन्डोनले खेलको एक मात्र गोल गरे। भेनेजुएलाले पहिलो खेलमा पनि जमैकालाई १–० ले नै पराजित गरेको थियो। लगातार दोस्रो जितपछि भेनेजुएलाको ६ अंक भएको छ भने उरुग्वे अंकविहीन छ।
 
शुक्रबार बिहान भएको अर्को खेलमा मेक्सिकोले जमैकालाई २–० ले पराजित गर्‍यो। खेलको १८ औं मिनेटमा ज्याभिएर हर्नान्डेजले गोल गर्दै मेक्सिकोलाई पहिले अग्रता दिलाए। पहिलो हाफमा एक गोल गरेको मेक्सिकोले दोस्रो हाफमा पनि गोल थप्यो। ८१ औं मिनेटमा ओरिव परेल्टाले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे।
 
जितपछि मेक्सिकोको पनि भेनेजुएला समान ६ अंक भएको छ भने अंकविहीन जमैका बाहिरिएको छ। अब समूह सी को विजेताका लागि मेक्सिको र भेनेजुएलाबीच खेल हुनेछ भने उरुग्वे र जमैकाबीच सान्त्वना जितका लागि प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell