नयाँदिल्ली : भारतमा चिनीको उत्पादन घटेर मूल्य बढ्न थालेपछि त्यसलाई रोक्न सरकारले निर्यात शुल्क वृद्धि गर्ने भएको छ। यसको असर नेपाली बजारमा पनि देखिने भएको छ।
नेपालले औपचारिक माध्यमबाट १४ करोडको चिनी आयात गरे पनि अनौपचारिक माध्यमबाट अझ बढी आयात भइरहेको छ।
भारतका खाद्यमन्त्री रामविशाल पासवानले चिनीको निर्यात शुल्क २५ प्रतिशतले वृद्धि गरिने जानकारी दिएका छन्। 'अन्तर्राष्ट्रिय बजारमा चिनीको भाउ बढेको छ। यस्तो बेलामा आयातकर्ताहरुले मुनाफा सुरक्षित गर्न स्टक बढाउँदा राम्रो,' उनले ट्वीट गरेरै भनेका छन्।
पासवानले उत्पादन कम भएका बेला चिनीको निर्यात भएर अभाव अझ खड्किने भन्दै त्यसमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाइने जानकारी दिए। उनले शुल्क बढेपछि निर्यात निरुत्साहित भएर बजारमा आवश्यक चिनी उपलब्ध हुने दाबीसमेत गरे।
इन्डियन सुगर मिल्स एसोसिएसनका अनुसार देशमा चिनीको उत्पादन २५० लाख टन मात्र हुनेछ। यो अघिल्लो वर्षको तुलनामा ११.७ प्रतिशतले कम हो।
अन्तर्राष्ट्रिय बजारमा समेत चिनीको भाउ १२ प्रतिशतले उक्लिइसकेको छ। इन्टरनेशनल सुगर अर्गनाइजेसनले यो वर्ष संसारभरि ५० लाख टन चिनी अभाव हुने प्रक्षेपण गरेको छ।
नेपालमा पनि यसपालि चिनीको उत्पादन घट्नेछ। किसानलाई पैसा नतिरेका कारण उखुको उत्पादन घटेको छ।