
काठमाडौं : नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्न निर्देशन दिएको छ। बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई शुक्रबार पत्र पठाएर शेयर कारोबार रोक्न निर्देशन दिएको हो।
फरदर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने विषयमा बोर्डमा आवेदन नदिई कम्पनीले सूचना जारी गरेको भन्दै शेयर कारोबार रोक्न बोर्डले निर्देशन दिएको हो। ‘बोर्डमा अहिलेसम्म निवेदन दिइएको छैन, पहिले नै सूचना प्रकाशित गर्दा बजार मूल्यमा चलखेल हुन सक्छ,’ धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले भने, ‘एफपिओ निष्काशन गर्न अनुमति लिनुपर्छ तर अनुमति लिने प्रक्रिया नै सुरु नगरी सूचना प्रकाशित गर्दा लगानीकर्ता ठगिन सक्छन्।’
नेपाल लाइफले प्रतिकित्ता २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्ने जनाएको थियो। एक सय रुपैयाँ अंकित दरको शेयरमा कम्पनीले २८५१ रुपैयाँ प्रिमियम जोडेको हो।
कम्पनीले बिहीबार यो सार्वजनिक गरेपछि पुँजी बजारमा सेयरको मूल्यमा प्रतिकित्ता चार सय रुपैयाँले बढेको थियो।
'हाम्रो सरोकार लगानीकर्ता नठगिऊन् भन्ने हो,’ प्रवक्ता गिरीले भने, ‘अब हामी अध्ययन गर्छौं, अध्ययनको निष्कर्षपछि मात्रै के गर्ने भनेर निर्णय हुन्छ।'
बोर्डले नेप्सेलाई पठाएको पत्रमा आधिकारिक रुपमा मूल्य निर्धारण नगराई, बजारलाई प्रभावित गर्ने हिसाबले सूचना दिएको कारण कारोबार रोक्नुपर्ने उल्लेख गरेको छ।
बोर्डले लेखेको पत्र
कम्पनीले संस्थापक समूहमा रहेको ८० प्रतिशत शेयरलाई ७० प्रतिशतमा झार्दै बाँकी १० प्रतिशत अतिरिक्त शेयर निष्काशन गर्न लागेको हो। यसबाट कम्पनीको पुँजीमा ३० करोड ९६ लाख रुपैयाँ थपिने र बाँकी ८ अर्ब ८२ करोड रुपैयाँ कम्पनीको जगेडा कोषमा जान्थ्यो।
अहिले कम्पनीको पुँजी २ अर्ब १६ करोड ७५ लाख रुपैयाँ छ। यो पुँजीका आधारमा कम्पनीले संस्थापक समूहमा रहेको १० प्रतिशतलाई साधारणमा झार्ने गरी एफपिओ गर्न लागेको हो।