PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेम्वाङको चेतावनी : नेताहरुको हैसियत खेलाडीबाट दर्शकमा पुग्न सक्छ



रमेश वाग्ले

नेम्वाङको चेतावनी : नेताहरुको हैसियत खेलाडीबाट दर्शकमा पुग्न सक्छ

काठमाडौँ : पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन गर्न दलहरु असफल भए दलहरुको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताएका छन्। 

पहिलोपोस्टसँगको कुराकानीमा नेता नेम्वाङले अहिले टिमहरुबीच मात्र नभएर टिमभित्रै पनि समस्या देखिरहेको बताए। 

'म निरास भएको हैन, एकदमै आशावादी छु, संविधानले अपेक्षा राखेको समयमा हामी सबै कुरा गर्न सफल हुन्छौँ भन्नेमा' नेम्वाङले भने, 'यदि कार्यान्वयन नहुने अवस्था आयो भने दलहरु असान्दर्भिक बन्न पुग्छन् र फूटबलकै उदाहरण दिँदा दलहरु स्टेडियममा खेल्ने खेलाडीको हैसियतबाट प्यारापिटमा बसेर खेल हेर्ने दर्शकको हैसियतमा पुग्नसक्छन्।' 

उनले अहिले मैदानमा खेल्ने दलहरु त्यतिबेला अरुले नै खेलेको हेर्ने दिन पनि आउन सक्ने चेतावनी दिए।

उनले फूटबलमा खेल जतिसुकै राम्रो खेले पनि गोल नगर्दासम्म त्यसको उद्देश्य प्राप्ति नहुने भन्दै दलहरुले पनि जतिसुकै 'टिम स्पिरिट'मा संविधान जारी गरे पनि कार्यान्वयन नभए त्यसको औचित्य स्थापित नहुने बताए। 

'७० वर्ष लगाएर बनाएको संविधान जारी गर्ने चुनौति पार गर्दा जुन एकता देखियो त्यही एकता र 'टिम स्पिरिट' यसको कार्यान्वनका लागि पनि आवस्यक छ' नेम्वाङले भने, 'गोल गर्नुका लागि एउटा चरणमा हामी सबैजना क्रियाशील भएर दलहरुलाई उत्प्रेरित गर्नु पनि आवस्यक छ।' 

उनले २०७४ साल माघ ७ गतेसम्म संविधानको कार्यान्वयन नभए दलहरु असान्दर्भिक बन्न सक्ने र देश अप्ठेरोमा पर्ने बताए। उनले 'यो आफ्नो कल्पना मात्र' भएको भन्दै दलहरुले 'त्यस्तो अवस्था आउन नदिने' विश्वास व्यक्त गरे।

उनले खेलमा टिमहरुकाबीच र टिम भित्र पनि समस्या हुने भन्दै टिम भित्रको द्वन्द्व खतरनाक हुने बताए। 'कहिलेकाहीँ टिमहरुबीच समस्या आउँछन्। कहिलेकाहीँ टिमभित्र पनि समस्या देखिन्छन्' उनले भने, 'एउटा टिमले त फूटबल खेल्दा एउटै साइडमा फूटबल लगेर गोल गर्ने हो।

अहिले टिमभित्रै एक अर्काकै विरुद्ध खेले जस्तो पनि देखिन्छ।' उनले कस्ले टिमभित्रै टिम विरुद्ध खेल्यो भने चाहीँ बताउन नसक्ने बताए। त्यसो भए म्याच फिक्सिङ हुँदैछ भन्ने प्रश्नमा फिक्सिङ नै भन्ने अवस्था आइनसकेको उनले बताए। 

'यस्ता गडबडहरु चाहिँ निश्चय पनि देखिएका छन्। म्याच फिक्सिङ नै त नभनौँ' उनले भने, 'यस्लाई सम्बन्धित टिमले सुधार्न जरुरी छ।'
नेम्वाङले आफूले संविधान जारी गर्दा अध्यक्षको आसनबाट नै संविधानको कार्यान्वन नहुँदासम्म दलहरु एकजुट हुनुपर्ने विषय राखेको स्मरण गर्दै दलहरुले समत स्वीकारेको तथ्य प्रधानमन्त्री चुनावसम्म पुग्दा खण्डित भएको बताए। 

'प्रधानमन्त्री चुनावसम्म पुग्दा दलहरु विभाजित भए। मैले दलका नेताहरुलाई विभाजित भएर ठीक भएन भनेँ। मलाई तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले पनि भन्नुभएको थियो, एमाले माओवादी नेताहरुले पनि त्यही भनेका थिए। प्रधानमन्त्री चुनावमा हामी विभाजित भए पनि संविधान कार्यान्वयनमा सत्तापक्ष, प्रतिपक्ष हुँदैन भनेर।' 

प्रधानमन्त्रीको बचाउ

उनले नेताले देख्ने नै सपना भएको भन्दै त्यसका विषयमा तत्काल टिप्पणी गर्नुभन्दा कार्यान्वयन हुने समयसम्म कुर्नु उपयुक्त हुने बताए। 'सबैका आआफ्ना स्वभाव हुन्छन् प्रधानमन्त्रीज्यूको पनि आफ्नै स्वभाव छ' उनले भने, 'त्यसलाई कसरी ग्रहण गर्ने भन्ने मात्र कुरा हो। चुरो कुरा भनेको चाहीँ के हो त भन्दा कल्पना गरिएका कुराहरु वास्तवमा यथार्थमा लागू हुन सक्छन् कि सक्दैनन् भनेर हेर्ने हो।' 

नेम्वाङले प्रधानमन्त्रीले भनेका कुरा आजैबाट आलोचना नगरी पर्खन र कार्यान्वयन हुन्छ कि हुँदैन हेर्न आग्रह गरे। 

ओली अडानमा अडिनसक्ने नेता

उनले प्रधानमन्त्रीका भनाइलाई धेरैले उडाए पनि पछिल्लो समय अडान लिने नेताका रुपमा सबै सहमत भएको बताए। 'अहिले आएर एउटा कुरामा सबैजना एकमुख भएका छन्,' उनले भने, 'नेपालको प्रधानमन्त्री स्पष्ट अडान राख्छ र त्यो अडानमा अविचलित रहन्छ भनेर।' उनले व्यवहारमा लागू भएकै कारण सबैले यो तथ्य स्वीकार गरेको बताए। 'यो कुरा हाम्रा छिमेकोको सन्दर्भमा होस वा आन्तरिक सन्दर्भमा होस लागू भएको छ' नेम्वाङले भने। 

नेताले नै सपना देखेनन् भने कस्ले देख्छ?

ग्यास अभावले बिजोग भएको बेला खिटिक्क पारेर पाइपबाट चुल्होमा आएको ग्यास बाल्नुस भन्ने, प्रशान्त र हिन्द महासागरमा नेपाली झण्डा फहराउने पानी जहाज गुडाउँछु भन्ने गर्नुहुन्छ त्यो पनि ठिकै लाग्छ भन्ने प्रश्नमा नेम्वाङ भन्छन्,  'नेताले सपना त देख्ने हो नि।' 

एमाले नेताहरुले कृष्णप्रसाद भट्टराईको मेलम्ची सपना अहिले उदाहरणको रुपमा प्रस्तुत गर्छन्। तर त्यतिबेला एमालेको भूमिका त अहिले विपक्षीको भन्दा उग्र थियो नि भन्ने प्रश्नमा उनले सोझो उत्तर दिएनन्। 

​'यसलाई म यसरी हेरौँ भन्छु, सपना देख्नुपर्छ। अझ नेताले सपना देखेन भने के गर्छ देशका लागि?' उनले भने, 'चुरो कुरा नेताले भनेका कुरा लागू हुन सक्छन् कि सक्दैनन् भन्ने हो र हुन सक्छन् भने त्यसलाई कुर्ने हो।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell