PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कान्तिपुर गाथा : म जाने दरवारमार्ग, तिमी गयौ विदेशतिर



किशोर नेपाल

कान्तिपुर गाथा : म जाने दरवारमार्ग, तिमी गयौ विदेशतिर

अम्बर गुरुङले देहत्याग गरेको दिन चार्ली एयरपोर्ट इमिग्रेसनमा वैदेशिक रोजगारमा जाने युवाहरुको लाममा उभिएको थियो। उसले दुई चार पटक लोकल हवाई यात्रा गरेको थियो काठमाडौं–पोखरा र पोखरा–काठमाडौंको। तर अन्तर्राष्ट्रिय उडानमा यो पहिलो अनुभव थियो उसको। झण्डै एक घण्टा उभिनु पर्यो इमिग्रेसनको त्यो लाममा। खाँदाखाँद मानिस देखेर चार्ली एकपटक त आत्तिएको थियो। त्यहाँ उभिएका बेला अम्बर गुरुङका गीत गुन्जिइ रहेका थिए उसको कानमा।

इमिग्रेसनको हाकिमलाई पासपोर्ट बुझाउँदा ऊ अनायास नै ‘सयौँ थुंगा फूल’ गुनगुनाइरहेको थियो। यो गीतलाई ऊ मूड अनुसार बुझ्ने गर्थ्यो। कहिले राष्ट्रिय गान जस्तो र कहिले बाल गीत जस्तो। एकैछिन पछि सुरक्षा जाँचसकेर चार्ली विमानस्थलको ‘नो म्यान्स ल्याण्ड’ मा पुग्यो।

वेटिंग हलमा पर्खिदा उसको मनमा अनेकौ कुरा खेल्न थाल्यो। उसले विदाइको टीका लगाई दिँदै गरेकी मामुको पिटपिट्याउँदो र भक्कानिएको अनुहार सम्झियो। पापाको रोक्न खोज्दाखोज्दै रसाउन थालेका आँखा सम्झियो। र, त्यसपछि कनिकालाई सम्झियो। पछिल्लो पन्ध्र मिनेट उसले यी सबै माया र प्रेमका बन्धनहरुलाई बिर्सिने प्रयत्न गर्न थाल्यो।

विमानस्थल नो स्मोकिङ जोन थियो। उसले एउटा कुनामा स्मोकिङ जोनको संकेत देख्यो। तलतल लागेको थियो उसलाई चुरोटको। ऊ स्मोकिङ जोनमा पस्यो। उसको खल्तीको लाइटर सुरक्षाले जफत गरिसकेको थियो। तर त्यहाँ अम्मलीहरुको कमी थिएन। धूवाँले रंगमगिएको थियो स्मोकिङ जोन। चार्लीले शिखरको बट्टाबाट एउटा चुरोट निकाल्यो। एकजनाले लाइटर बाली दियो। उसको आँखा छेउमा टाँसिएको एउटा स्टिकरमा पर्यो –  धूम्रपानले लिन्छ ज्यान। ऊ मन्द हाँस्यो।

जिन्दगीको के भरोसा...कनिकालाई बिर्सिने प्रयत्न गर्दागर्दै उसले यो गीतको गायकको नाम नै बिर्सियो। चार्लीलाई आफ्नै माया लाग्यो। कतारबाट कफिनमा फर्किनेहरुको थुप्रै समाचार पढेको थियो उसले। ऊ वर्तमानमा फर्किने छ कि भूत भएर? सोचेरै जिउ सिरिंग गर्यो उसको। तन्द्रामा थियो ऊ त्यतिन्जेल। फ्लाइट अनाउन्समेन्टपछि बल्ल तन्द्राबाट बिउँझियो।

चार्ली उड्नुभन्दा दुई दिन अघि नै कनिकाले बाई भनी सकेकी थिइ उसलाई। सी यू चाहीं भनेकी थिइन। के थाहा, चार्ली फर्किँदासम्म उसको अफेयर अर्कोसँग चलिसकेको हुन्छ कि? उसले बिहे नै गरिसकेकी हुन्छे कि?  जिन्दगीको के भरोसा...गीतको उही बोल उसको कानमा पनि गुञ्जिइरहेको थियो, जुन बोलको बोझ बोकेर चार्ली कतार उडेको थियो। खाली सन्दर्भहरु फरक थिए। कनिकाका ब्वाइफ्रेण्डहरु नभएका होइनन्।

तर, चार्लीले उसको मनको रित्तो कुनो भरिदिएको थियो। दुई दिनमा नै चार्ली उसको मनबाट हटने कुरा थिएन। तर, कनिकालाई लागेको थियो, उसको मनको त्यो कुनो फेरि रित्तिएको छ। कान्तिपुर शहरका धेरै केटीहरु एउटा ब्वाइफ्रेण्ड नभए पनि बस्न सकिन्छ भन्ने मानसिक अवस्थामा हुँदैनन्। कतिका लागि ब्वाइफ्रेण्ड व्यक्तिगत जीवनका सहयोगी हुन्छन। कतिका लागि रोमान्टिक सत्य। कतिका लागि चुरोट तान्न चाहिने साथी। कनिकाका लागि चार्ली त्यस्तै आदर्श ब्वाइफ्रेण्ड थियो। हाँस्ने र हाँसी मात्र रहने। जति कचकच गरेपनि हुने।

चार्ली हिंडेपछि कनिकाका दिन निकै कठिन बिते। दिन कटाउनै मुश्किल पर्यो उसलाई। उसको मनपर्ने डेस्टिनेशन कफी पसल जान पनि पाइन। कोठामा बसेर गीत सुन्नु एकमात्र काम भयो उसको, ‘तिमी जाने सिलीगुडी, म जाने सिक्किमतिर...’ साँच्चै त्यस्तै भयो। कनिकाले यो लोकप्रिय गीतको प्यारोडी बनाइ र मन्द स्वरमा गुनगुनाउन थाली, ‘म जाने दरवारमार्ग, तिमी गयौ विदेशतिर।’

​​(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा) 

यो सिरिजका अन्य गाथा- 

फोटो सौजन्य : क्रिस्टटुलिभ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell