PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

युरोकप आयोजना हुने फ्रान्सका १० रंगशाला, हेर्नुस् यस्ता छन् विशेषता



पहिलोपोस्ट

युरोकप आयोजना हुने फ्रान्सका १० रंगशाला, हेर्नुस् यस्ता छन् विशेषता

काठमाडौं : फ्रान्सको पेरिसमा जारी १५ औं संस्करणको युरोकपमा अहिलेसम्मकै सबैभन्दा धेरै २४ राष्ट्र सहभागी हुँदैछन्। यस पटक ३१ दिनमा कुल ५१ खेल हुनेछन्। जसका लागि फ्रान्सले नयाँ ४ सहित १० रंगशाला तयार गरेको छ।

यस्ता छन् ती रंगशालाका विशेषताहरु-
 

१. स्टेट डे बोर्डेक्स, बोर्डेक्स

वायर्न म्युनिखको एलिन्ज एरेना र चीनको बर्ड नेस्ट रंगशालाका आर्किटेकले तयार पारेको रंगशाला हो- स्टेट डे बोर्डेक्स।


सन् २०१३ मा निर्माण सुरु गरिएको यो रंगशाला २०१५ मा तयार भएको हो। १८४ मिलियन युरो खर्च गरिएको रंगशालाको दर्शक क्षमता ४२ हजार रहेको छ। यसमा युरोकपका समूह चरणका ४ र क्वाटरफाइनलमा १ खेल सञ्चालन हुनेछ। बोर्डेक्स सहर वाइनको लागि प्रसिद्ध छ, जहाँ एक वर्षमा ७५० मिलियन बोतल वाइन तयार हुन्छ ।
 

२. स्टेड बोलार्ट डेलेलिस, लेन्स

३८ हजार दर्शक क्षमता रहेको स्टेड बोलार्ट डेलेलिस रंगशाला युरो २०१६ का लागि पुनर्निर्माण गरिएको रंगशाला हो। सन् १९९८ को विश्वकपमा लोरेन्ट ब्लाङ्कले पाराग्वेविरुद्ध गोल्डेन गोल यसै रंगशालमा हानेका थिए। १९९८ को विश्वकपसँगै यस रंगशालामा सन् १८९४ को युरो पनि आयोजना गरिएको थियो।
 
लेन्समा समूह चरणका ३ र क्वाटरफाइनलका १ गरी कुल ४ खेल आयोजना हुनेछ। लेन्स सहरको कुल जनसंख्या गए पनि उक्त रंगशाला भरिनेछैन।
 

३. स्टेड पिएरे माउरो, लिले

लिले सहरका पूर्वमेयर तथा पूर्व फ्रान्सेली प्रधानमन्त्री पिएरे माउरोको नामबाट यो रंगशालाको नाम राखिएको हो।

२०१० मा निर्माण सुरु गरिएको रंगशालाको निर्माण २०१२ मा सम्पन्न भएको थियो। फुटबलका साथै रग्वी युनियन, बास्केटबल, टेनिस लगायतका खेल आयोजना गरिसकेको रंगशालामा २०१४ को डेविस कप टेनिसको फाइनल आयोजना भएको थियो।
 
५० हजार दर्शक क्षमता रहेको यस रंगशालामा युरोका समूह चरणमा ४, अन्तिम १६ र क्वाटरफाइनलमा १ एक गरी कुल ६ खेल सञ्चालन हुनेछ।
 

४. स्टेड डे लियोन, लियोन

सन् २००७ मा लियोन क्लबको नयाँ घरेलु रंगशालाको रुपमा निर्माण सुरु गर्ने भनिए पनि कानुनी समस्याका कारण २०१३ मा मात्र निर्माण कार्य सुरु गरिएको थियो। २०१६ मा मात्र निर्माण कार्य पूरा भएको यस रंगशाला युरो २०१६ को महँगो रंगशाला हो।


फ्रेन्च लिग अन्तर्गत लियोन र ट्रोएसबीचको खेलसँगै यो रंगशालाको औपचारिक उद्घाटन गरिएको थियो। फ्रेन्च फुटबल क्लबले आफ्नै स्वामित्वमा राखेको यो पहिलो रंगशाला हो। ५९ हजार दर्शक क्षमता रहेको रंगशालामा युरोका समूह चरणका ४, अन्तिम १६ र सेमिफाइनलमा १/१ खेल हुनेछन् ।
 

५. स्टेड भेलोड्रोम, मार्से

सन् १९३८ को विश्वकपका लागि १९३७ मा तयार पारिएको यो फ्रान्सको ऐतिहासिक रंगशाला हो। सन् १९९८ मा फ्रान्समै भएको विश्वकपका लागि पुनर्निर्माण गरिएको रंगशालाको दर्शक क्षमता अहिले ६७ हजार रहेको छ।

यस रंगशालमा युरोका समूह चरणका ४, क्वाटरफाइनल र सेमिफाइनलका १/१ गरी ६ खेल हुनेछन्।
 

६. स्टेड डे नाइस, नाइस

सन् २००२ देखि नै नाइट स्टेड डु रे को प्रतिस्थापनका लागि नयाँ रंगशालाको खोजीमा थियो। २००२ र २००६ मा नयाँ योजना रद्द भए पनि युरो २०१६ को लागि २०११ मा स्टेड डे नाइसको निर्माण कार्य सुरु गरी २०१३ मा सम्पन्न भएको थियो।

बहुउद्देश्यीय प्रायोजनाको लागि तयार पारिएको यस रंगशालामा फुटबलसँगै रग्वी, टेनिस, मोटर स्पोर्टस र कन्सर्ट समेत आयोजना गर्न सकिन्छ।
३६ हजार दर्शक क्षमता रहेको यस रंगशालामा युरो २०१६ का समूह चरणका ३ र अन्तिम १६ का १ गरी ४ खेल हुनेछन्।
 

७. पार्क डेस प्रिन्सेन, पेरिस

फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेनको घरेलु मैदान हो- पार्क डेस प्रिन्सेज।

सन् १८९७ देखि बनाउन सुरु गरिए पनि १९३२ मा यसको पुनर्निर्माण गरिएको थियो। १९७२ मा पुन: दोस्रो पटक पुनर्निर्माण गरियो। यस रंगशालामा सन् १९५६ को युरोपियन च्याम्पियन्स लिग फाइनल र १९८४ को युरोकप फाइनल आयोजना गरिएको थियो।

४८ हजार दर्शक क्षमता रहेको रंगशालामा युरो २०१६ का समूह चरणका ४ र अन्तिम १६ का १ गरी कुल ५ खेल हुनेछन्।
 

८. स्टेड डे फ्रान्स, सेन्ट डेनिस पेरिस

यो फ्रान्सको राष्ट्रिय रंगशाला हो। सन् १९९८ को विश्वकपका लागि तयार गरिएको रंगशाला युरो २०१६ का लागि पुनर्निर्माण गर्नु नपरेको एक मात्र रंगशाला हो। युरो २०१६ को लागि सबैभन्दा बढी दर्शक क्षमता रहेको यस रंगशालाको क्षमता ८० हजार रहेको छ।

यहाँ १९९८ को विश्वकपको फाइनल सहित ९ खेल आयोजना गरिएको थियो। फुटबल विश्वकप र रग्वी युनियनको फाइनल आयोजना गर्ने एक मात्र रंगशाला हो यो। यहाँ सन् २००७ को रग्वी फाइनल समेत आयोजना गरिएको थियो।

युरो २०१६ को फाइनल खेलाइने यस रंगशालामा समूह चरणमा ४, अन्तिम १६ र क्वाटरफाइनका १ गरी कुल ७ खेल हुनेछन्।
 

९. सेन्ट जियोफ्रो गुइचार्ड, सेन्ट एटिएन

सन् १९३१ मा निर्माण गरिएको यस रंगशालालाई युरो २०१६ का लागि सुरुमा टुलुजसँगै वैकल्पिक रंगशालाको रुपमा राखिएको थियो। तर युरोको आकार बढेसँगै दुवैलाई युरो आयोजनाको लागि तयार पारिएको हो। यस रंगशालामा सन् १९८४ को युरोकप र १९९८ को विश्वकप आयोजना गरिएको थियो।


यस रंगशालमा युरो २०१६ का समूह चरण ३ र अन्तिम १६ को १ गरी कुल ४ खेल हुनेछन्।
 

१०. स्टेडियम डे टुलुज, टुलुज

सन् १९३८ को विश्वकपका लागि निर्माण गरिएको यस रंगशाला टुलुज क्लबको घरेलु मैदान हो।

मिनी वेम्वलेको रुपमा चिनिने यस रंगशाला सन् १९९८ को विश्वकपका लागि पुनर्निर्माण गरिएको थियो। ३३ हजार दर्शक क्षमता रहेको यस रंगशालामा समूह चरणका ३ र अन्तिम १६ का १ गरी कुल ४ खेल हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell