काठमाडौं : संघीय जनमुक्ति पार्टी र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ।
आज राजधानीमा आयोजित एक कार्यक्रमबीच दुई शक्तिबीच एकता भएको घोषणा गरिएको हो।
‘द्विपक्षीय लामो छलफल र विमर्शपश्चात देशको विद्यमान राजनीतिक अवस्था र परिस्थितिलाई समेत मध्यनजर गरी हामी समायोजनको ऐतिहासिक निर्णयमा पुगेका हौं,’ नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र संघीय जनमुक्ति पार्टीका अध्यक्ष परशुराम तामाङद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।
संघीय जनमुक्ति पार्टीको जेठ २८ र २९ मा सम्पन्न महाधिवेशनले नयाँ शक्ति नेपालसँग समायोजन हुने संस्थागत निर्णय गरेको थियो। भोलि दशरथ रंगशालामा हुने पार्टी घोषणासभा राष्ट्रिय भेलाको प्राविधिक कार्य दुवै शक्तिको सहमतिमा गरिने पनि जनाइएको छ।
नयाँ शक्तिले भोलि पार्टी एकता घोषणाको कार्यक्रम राखेको छ।
जेठ ३१ र ३२ गते हुने बन्दसत्रको छलफलमा दुवै शक्तिका दस्तावेजलाई संयोजन गरी एउटै बनाएर पेश गरिने र महाधिवेशनसम्म छलफलमा लगिने डा भट्टराईले जानकारी गराए।
दुई शक्तिबीच एकताका लगि शीर्ष तहमा विगत चार महिनादेखि निरन्तर छलफल हुँदै आएको जनाइएको छ।
‘जारी संविधानको अपूर्णताका कारण आदिवासी जनजाति, तराई–मधेस, मगरात, लिम्बुवान, खम्बुवानका जायज विषयहरुलाई सम्बोधन गर्न सरकार चुकेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘संघीयतामा सीमांकनको सवाललाई पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति तथा राज्य पुनर्संरचना आयोगको सिफारिशलाई आधार मानेर गरिनु नै वैज्ञानिक हुन्छ।’
पुराना शक्ति, पुराना चिन्तन एवं पुरानो कार्यशैलीले कुनै निकास नमिल्ने भएकाले वैकल्पिक शक्तिको खाँचो महसुस गर्दै दुई शक्ति समायोजन भएको समेत उक्त विज्ञप्तिमा उल्लेख छ।