PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

फुटबलमा छोराछोरीसँग बाजी हार्छन् डिआइजी केशव अधिकारी



सविन ढकाल

काठमाडौं :  हिजो शुक्रबार मध्यरातबाट युरोकप फुटबल सुरु भइसकेको छ। फ्रान्समा जारी युरोको ज्वरो विश्वभर नफैलिने कुरै भएन। फुटबल हेरेर रमाउनेमा हरेक क्षेत्र, पेसा र व्यवसायका उत्तिकै छन्। जो, समय निकालेर युरोकप हेर्दै छन्।
 
नेपालमा पनि फुटबलका पारखीहरु धेरै छन्। यसैमध्येका एक हुन्- नेपाल प्रहरीका डिआइजी केशव अधिकारी।
 
भैरहवा पुर्ख्यौली घर भएका अधिकारी बाल्यकालमा खुब फुटबल खेल्थे। स्कुल र कलेज पढ्दा समेत उनी अनेक जुक्ति लगाएर अभिभावकसँग फुटबल किनिमाग्थे। ‘आफूसित पैसा हुँदैन थियो, ब्लाडरमा हावा भरेर खेल्थौं,’ डिआइजी अधिकारी बाल्यकालीन अतीततिर फर्किए, ‘आफूभन्दा ठूला दाइहरु आएर सँगै खेलून् र फुटबल पनि किनिदिऊन् जस्तो लाग्थ्यो।’
 
सानो छँदैदेखि फुटबलमा रस बसेपछि पछिसम्म पनि उनी यसको पारखी नै बने। विश्वकप वा युरोकप, प्राय: हेर्न छुटाउँदैनन्। धेरैपटक मध्यरातमा एक्लै बसेर पनि टिभीमा लाइभ गेम हेरेको अनुभव छ उनीसँग।
 
एक्लै हेर्नुको पनि बाध्यता रहेछ उनीसँग। श्रीमतीलाई खेलमा रुचि छैन, त्यसैले राति सँगै बसेर हेर्ने कुरै भएन। ‘ससुराबुबा त युरोकप कहिले छुटाउनुहुन्न,’ उनी हाँस्दै भन्छन्, ‘तिनै ससुराकी छोरीचाहिँ खेल नै नहेर्ने। आफू एक्लै धुमधुम्ती बसेर हेर्नुपर्छ।’
 
छोरा उज्ज्वल र ऊर्जा पनि साथमा छैनन्। दुवै अध्ययनको सिलसिलामा अमेरिकामा छन्। ‘उनीहरु यतै भएको बेला त सँगै बसेर हेर्दा निकै मजा हुन्थ्यो,’ अधिकारी सुनाउँछन्, ‘उनीहरु अर्कै टिमको पक्षमा हुन्थे, म अर्कैको पक्षमा। जोस्सिँदै गेम हेर्दा बेग्लै खालको रमाइलो हुन्थ्यो।’  
 
कतिपटक त छोराछोरीसँग बाजी राखेरै खेल हेरेको अनुभव छ उनीसँग। ‘उनीहरुले खेलाडी र टेक्निकबारे मैलेभन्दा बढी बुझेका छन्,’ उनले भने, ‘धेरैजसो उनीहरु नै बाजी जित्थे। मैले धेरैपटक उनीहरुसँग हारेको छु।’ पैसाकै बिट राख्नुभन्दा पनि उनले हारपछि बाहिर खाना खुवाउन लैजाने र सपिङ गरिदिने गर्दा रहेछन्।
 
अहिलेको युरोकपमा कुनै एक टिमलाई समर्थन गरिहालेका छैनन् अधिकारीले। ‘क्वाटरफाइनलपछिका खेल त प्राय: छुट्दैन,’ उनी भन्छन्, ‘हेर्दै जाऊँ कुन टिमले राम्रो खेल्छ त्यसकै समर्थन गर्नुपर्ला।’
 
यति बेला डिआइजी अधिकारी छोराछोरीलाई खुब मिस गरिरहेका छन्। किनकि सँगै खेल हेर्नलाई उनीहरु साथमा छैनन्।
 
एक्लै धुमधुम्ती खेल हेर्नुपर्ने बाध्यता छ। किनकि श्रीमतीलाई खेलमा रुचि नै छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell