
इन्जुरी टाइमको दोस्रो मिनेटमा रसियाका कप्तान भसीली बेरेजुट्स्कीले शानदार गोल गरेपछि फ्रान्समा जारी युरो कपको पहिलो खेलमा इंगल्याण्ड रसियासँग बराबरीमा रोकिएको छ।
निर्धारित समयको खेलमा जितनजिक पुगेको इंगल्याण्डले इन्जुरी टाइममा अग्रता जोगाउन सकेन र बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भयो।
समुह बी अन्तर्गत स्टेड डे भेलाड्रानमा भएको खेलमा खेलमा इंग्ल्याण्ड रसियासँग १–१ गोलको बराबरीमा रोकिएको हो। यसअघि पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो भने दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
कप्तान वायन रुनीसँगै ह्यारी केन, जेमी भार्डी, जस्ता फरवार्ड लाइन रहेको इंगल्याण्डलाई गोलको खाता खोल्न ७३ मिनेटसम्म कुर्नुपर्यो। मिडफिल्डर एरिक डाएरले ७३ औं मिनेटमा प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै शानदार गोल गरेका थिए। तर इन्जुरी टाइममा रसियाका कप्तान बेरेजुट्स्कीले गोल गरेपछि इंगल्याण्ड जित नजिक पुगेर पनि बराबरीमै रोकियो।
युवा खेलाडीहरुको उत्कृष्ट समायोजन रहेको इंग्लिस टीमलाई यसपटक युरो उपाधिको दाबेदारका रुपमा हेरिएपनि पहिलो खेलमा भने इंगल्याण्डले सोचेजती प्रदर्शन गर्न सकेन।
बराबरीपछि इंगल्याण्ड र रसियाले एक एक अंक बाँडेका छन्। समुह बी अन्तर्गत नै भएको पहिलो खेलमा वेल्सले स्लोभाकियालाई २–१ ले पराजित गरेको थियो।
समुह चरणको दोस्रो खेलमा इंगल्याण्डले वेल्स र रसियाले स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ ।