PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

वर्ड भिजनको कार्यालय र गाडीमा विप्लव माओवादीद्वारा आगजनी



रासस

नुवाकोट : भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेशनल नेपालको जिल्ला कार्यालयमा गएराति नेकपा माओवादीले आगजनी गरेको छ।
 
गएराति साढे १२ बजे तीन जनाको समूहमा आएका कार्यकर्ताले विदुर नगरपालिका ४ बट्टारमा रहेको वर्ड भिजनको कार्यालय परिसरमा रहेको गाडीमा आगो लगाएका थिए। आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले लिएको छ।
 
प्रत्यक्षदर्शी संस्थाका सुरक्षाकर्मी तुलबहादुर प्याकुरेलका अनुसार गेटपट्टिबाटै भित्र छिरेका तीन जनाले उनलाई धम्याएर गाडीमा आगो लगाई भागेका थिए। आफूहरु हल्ला गरेमा मार्ने धम्कीसमेत उनीहरुले दिएको उनले बताए।
 
गाडीमा करिब ४५ मिनेट आगो लागेपछि मात्रै नियन्त्रणमा लिइएको छिमेकी शिवप्रसाद अधिकारीले बताएका छन्। बलिरहेको गाडीको आगोको राप घरको तेस्रो तलामा पुगेपछि त्यहाँ पनि आगो लागेको थियो। त्यसपछि घटनास्थलमा पुगेको दमकलले गाडी र घरमा लागेको आगो नियन्त्रणमा लिएको थियो।
 
आगलागीबाट घरको झ्याल तथा घरको बाहिरी भाग जलेको छ। कार्यालयको कागजात र सामग्री भने सुरक्षित रहेको वर्ड भिजनका देवेन्द्रप्रसाद गुरुङले बताए।
 
घरधनी कृष्णप्रसाद अधिकारीका अनुसार तल्लो तलाबाट घरमा आगो सल्किएपछि माथि रहेका परिवारका सदस्यलाई एक घन्टापछि मात्रै उद्धार गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell