PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

माओवादीद्वारा एनसेल टावरमा शृंखलाबद्ध आगजनी, जल्यो बाँकेको टावर पनि



पहिलोपोस्ट

काठमाडौं : एनसेलका १० वटा बेस स्टेसनमा आगजनी गरिएको एक दिन नबित्दै बाँकेमा रहेको एनसेल टावरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन्।
 
बाँके शमशेरगन्ज-७ मा रहेको टावरमा आइतबार बिहान २ बजे आगजनी गरिएको हो। आगजनीका कारण टावर बक्स, अप्टिकल केबल लगायतका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ।
 
नेकपा माओवादी बाँकेका सेक्रेटरी अशोक पोख्रेलले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार बाँकेमा पनि एनसेल टावरमा आगजनी गरिएको जानकारी दिए। राज्यलाई तिर्नुपर्ने कर कम्पनीले ठग्न खोजेकाले कारबाही स्वरुप टावरमा आगजनी गरिएको उनको भनाइ छ।
 
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले मध्यरातमा ‘अज्ञात समूह’ले टावरमा आगजनी गरेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।
 
शनिबार बिहान मात्रै सल्यान, दाङ, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ, बाग्लुङ र गोर्खा जिल्लामा रहेका एनसेल कम्पनीको १० वटा बेस स्टेसनमा पनि आगजनी भएको थियो।
 
घटनापछि एनसेल कम्पनीले विज्ञप्ति जारी गर्दै सो घटनाले आफूहरु स्तब्ध र दुःखी भएको जनाएको छ।

‘जनसमुदायलाई सञ्चार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने महत्वपूर्ण मोबाइल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानुनी तथा गम्भीर अपराध हो,’ एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने, ‘हामी क्षतिको विवरण प्राप्त गर्ने क्रममा रहेका छौं, त्यसैले के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन।’
 
ती संरचनामा क्षति पुग्नाले ग्रामीण क्षेत्रका करिब २ लाख ५० हजार ग्राहकलाई प्रत्यक्ष रुपमा र अन्य ठाउँबाट त्यहाँ रहेका आफन्तसँग सम्पर्क गर्ने थुप्रै व्यक्ति सञ्चारविहीन बनेको कम्पनीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell