
काठमाडौं : नयाँ शक्ति नेपाल पार्टीको केही बेरअघि औपचारिक घोषणा गरिएको छ।
यसअघि नयाँ शक्ति नेपाल अभियान चलाउँदै आएका संयोजक डा बाबुराम भट्टराईले सम्बोधन गर्दै औपचारिक रुपमा पार्टी घोषणा गरेका हुन्।
पार्टी घोषणाको प्रतिबद्धता यस्तो छ-
हामी एक स्वतन्त्र, स्वाधीन, अविभाज्य, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक क्षेत्रीय विविधतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौमसत्तासम्पन्न नागरिक, नेपाली जनताले विभिन्न चरण र कालखण्डमा सञ्चालन गरेका राणाविरोधी आन्दोलन, पञ्चायती शासनविरोधी आन्दोलन, जनआन्दोलन, जनयुद्ध, जनसंघर्ष, मधेस आन्दोलन, आदिवासी जनजाति, थरुहट, महिला, मुस्लिम, दलित, अल्पसंख्यक लगायत उत्पीडित समुदायले चलाएको संघर्ष र आन्दोलनमा गरेको त्याग, बलिदान र उत्सर्गको उच्च सम्मान गर्दै, यी महान् जनताको न्याय, समानता, स्वतन्त्रता, पहिचान, मुक्ति र समृद्धिको आकांक्षा परिपूर्ति गर्न, नेपाल राष्ट्रको गरिमा अभिबृद्धि, नेपाली जनताको सर्वोत्तम हित र समृद्धिका लागि, आज मिति २०७३ जेठ ३० गते आइतबार एक वैकल्पिक राजनीतिक शक्तिको रुपमा नयाँ राजनीतिक दल, ‘नयाँ शक्ति नेपाल’ स्थापना गरेको सगर्व घोषणा गर्दछौं।
ठूलो संख्यामा आएका कार्यकर्तालाई संयोजक भट्टराईले सामूहिक सपथ ग्रहण पनि गराए।
शपथ ग्रहणमा भनिएको छ-
म, (नाउँ) नयाँ शक्ति नेपालको सदस्य भएकोमा गर्व गर्दछु। यही गर्वका साथ म मेरो देश, सहिददहरु, नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै निम्न प्रतिज्ञा गर्दछु,
म, नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपनालाई पूरा गर्न वचनवद्ध छु ।
म, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्दछु ।
म, सबै नेपाली जनताको समान पहिचान र स्वामित्व सहितको स्वाधीन, समृद्ध, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणकालागि क्रियाशील रहनेछु ।
म, जीनवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमा बृद्धिकालागि लागिरहनेछु ।
म, कहिल्यै सार्वजनिक हितलाई कुण्ठित गर्ने छैन र निजी स्वार्थकालागि राजनीति गर्नेछैन ।
म, सधैं श्रमको सम्मान गर्नेछु ।
म, जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोंच राख्नेछु ।
म, नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रुपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्त गर्न निरन्तर क्रियाशील रहनेछु ।