
बर्दिया : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता आफूहरुको एजेन्डामा सहमति जनाउने कांग्रेस र एमालेलाई धन्यवाद दिएका छन्।
आज दिउँसो बर्दियाको सुर्यपटुवास्थित डल्लामा सहिद बेदप्रसाद योगीको सालिक अनावरण गर्दै प्रचण्डले माओवादीका एजेन्डामा विरोध जनाउनेहरुलाई समेत मनाउन बाध्य भएकैले मुलुकमा परिवर्तन आएको बताए।
‘आफूले लगाएको बाली मागेर खाने जस्तो स्थिति हामी माओवादीको बन्यो,’ उनले थपे, ‘यी एजेण्डा हाम्रा भएकाले अब हामीले लगाएको बाली आफैं खाने हो।’
माओवादी फेरि एकपटक एकताबद्ध भएकाले अब नयाँ नेपालको चाहना चाँडै पूरा हुने उनको भनाइ छ।
माओवादी अरुभन्दा फरक मान्यता, फरक परम्परा र फरक धातुले बनेको पार्टी भएको प्रचण्डले बताए। ‘मानिसले विश्वास गरेका थिएनन् कि माओवादीले सिंगै देशलाई उचाल्न सक्छ भनेर। हामी सिधै सत्ता कब्जा गर्न चाहन्थ्यौं,’ उनले भने, ‘देशको परिस्थितिको कारण सम्झौतामा आउनुपर्यो। शान्ति प्रक्रियामा आएपछि अलि अप्ठ्यारो पनि हुन पुग्यो।’
सहिद र बेपत्ता परिवारको मुहार हँसिलो नभई आफूहरुले विश्राम नलिने भन्दै प्रचण्डले उनीहरुको मुहार हँसिलो नहुन्जेल विश्राम नलिने बताए।
सालिक अनावरण क्रममा उनले सहिद वेदप्रसादसँग ३० वर्ष पहिले नै भेट भएको र सूर्यपटुवामा १० दिन भूमिगत रहेर संगठन गरेको स्मरण गरे।
सूर्यपटुवामा २१ जनाले सहादत प्राप्त गरेका थिए। बर्दिया राज्यद्वारा सबैभन्दा बढी बेपत्ता पारिएकाहरुको जिल्लामा पर्छ।