
जियानलुजी बफोन र इकर कासियास आफ्नो समयका उत्कृष्ट गोलरक्षक हुन्, त्यसमा कुनै शंका छैन। दुवैले आ-आफ्नो देशका लागि विश्वकप फुटबलको उपाधि जितिसकेका छन्, साथै क्लब फुटबलमा पनि उनीहरुले धेरै उपाधि हात पारिसके।
उमेरले चार दशक छुन लाग्दा समेत आफ्नो देश र क्लबका लागि सक्रिय फुटबल खेलिरहेका यी दुई खेलाडीले अहिलेसम्म सन्यास लिने कुनै मनस्थिति बनाएका छैनन्।
अहिले फ्रान्समा १५ औं संस्करणको युरोकप चलिरहेको छ र दुवै सट स्टपर फेरि एकपटक आफ्नो उत्कृष्ट प्रदर्शन दोहोर्याउने लक्ष्यसहित फ्रान्स पुगेका छन्। बफोन इटली र कासियास स्पेनको प्रतिनिधित्व गर्दैछन्।
यसैबेला पोर्चुगिज क्लब पोर्टोबाट खेल्ने कासियासले आफ्नो सन्यासबारे खुलासा गरेका छन्। कासियासले बफोनले सन्यास नलिएसम्म आफूले पनि सन्यास नलिने बताएका हुन्। ‘जब बफोनले सन्यास लिनेछन्, अनि म पनि लिन्छु,’ दुई पटकको युरो च्याम्पियन कासियासले ला गाजेट्टा डेलो स्पोर्टसलाई बताए।
इटालियन सिरी ए च्याम्पियन युभेन्ट्ससँग गत मे मा नयाँ सम्झौता गरेका बफोनले आफ्नो ४० औं जन्मदिनसम्म खेल्ने सम्भावना रहेको छ। ३८ वर्षे बफोनले २०१७-२०१८ को सिजनसम्मको लागि युभेन्ट्ससँग सम्झौता गरेका हुन्।
बफोनभन्दा तीन वर्ष कान्छा कासियासले पोर्टोसँग नयाँ सम्झौता गर्ने अवसर रहेको छ। र, बफोनभन्दा अघि आफ्नो ग्लोब्स थन्क्याउने कुनै योजना नरहेको उनले बताएका छन्।
यस सन्दर्भका कासियासले भनेका छन्, ‘बफोनले भर्खरै नयाँ सम्झौता गरेका छन्, जसले म खुसी छु किनकि मैले पनि नयाँ सम्झौता गर्नेछु।’
जब हामी फुटबलबाट सन्यास लिन्छौं त्यसपछि उनको साथी र मेरा साथीबीच खेलको आयोजना गर्नेछौं।
कासियासले सोमबार हुने चेक रिपब्लिक विरुद्धको खेलमा पहिलो रोजाइमा पर्नका लागि डेविड डे हेयसँगै कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।
पछिल्ला दुई संस्करणमा स्पेनले युरो उपाधि जित्दा त्यसका महत्वपूर्ण सदस्य रहेका कासियासले चार वर्षपछि अहिले गोलरक्षकको काम कठिन बन्दै गएको बताएका छन्। उनले फ्रान्स बेल्जियम र जर्मनी उपाधि दाबेदारमा अगाडि रहेको र इटली र पोर्चुगल पनि कठिन प्रतिद्वन्द्वी रहेको बताए।