PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

युरो २०१६ : यी हुन्, आजको खेलमा हेर्नलायक ६ खेलाडीहरु



पहिलोपोस्ट

युरो २०१६ : यी हुन्, आजको खेलमा हेर्नलायक ६ खेलाडीहरु

थोमस मुलर, जर्मनी


थोमस मुलर २६ वर्षका भए । अहिलेसम्म उनले विश्वकप, युरोपियन च्याम्पियनसिप, बुण्डेशलिगा लगायत कलब फुटबलमा सबै खालको उपाधि जितिसकेका छन् ।

सन् २०१० मा डेब्यु विश्वकपमै गोल्डेन बुटको अवार्ड जितेका मुलरले अब जित्न बाँकी रहेको एउटै प्रतियोगिता युरो कप हो । जर्मनीको लागि ७१ खेल खेल्दै ३२ गोल गरिसकेको मुलरले युरोकपमा गोलको खाता पनि खोल्न सकेका छैनन् । स्पेन सँगै सर्वाधिक तीन पटकको युरो च्याम्पियन तथा विश्व च्याम्पियन जर्मनीका लागि यो पटक मुलर मुख्य खेलाडीका रुपमा रहेका छन् । 

रोबर्ट लेवान्डास्की, पोल्याण्ड


पोलीस टीमलाई यस पटकको युरोमा डार्क हर्सको रुपमा हेरिएको छ र त्यसका स्टार खेलाडी हुन् रोबटै लेवान्डास्की । सन् २०१२ मा युक्रेनसँगै संयुक्त रुपमा घरेलु मैदानमा भएको युरोमा पोल्याण्ड समुह चरणबाटै बाहिरिएको थियो । जसमा लेवान्डास्कीले एक गोल मात्र गरेका थिए ।

जर्मन क्लब वायर्न म्युनिखबाट खेल्ने लेवान्डास्की पोल्याण्डका कप्तान समेत हुन् र सम्पुर्ण टीमको भरोसा उनीमाथि रहेको छ । युरो २०१६ को छनोटमा सर्वाधिक १३ गोल गरेका लेवान्डास्कीलाई गोल्डेन बुटको सम्भावित दाबेदारको रुपमा समेत हेरिएको छ । वर्तमान विश्व फुटबलका उत्कृष्ट स्ट्राइकरको सूचिमा दहरिएका लेवान्डान्स्की कुनैपनि बेला विपक्षी डिफेन्डरको लागि टाउको दुखाई बन्न सक्नेछन् । सन् २००८ मा पोल्याण्डका लागि डेब्यु गरेका लेवान्डास्कीले ७६ खेलमा ३४ गोल गरेका छन् । 

योभेन कोनाप्लाइन्का, युक्रेन


सेभियालाई युरोपा लिगको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका कोनाप्लाइन्का युक्रेनका स्टार म्यानको रुपमा रहेका छन् । युरो छनोटमा २ गोल मात्र गरेपनि योभेन गोलका लागि सहयोग गर्न र आँफै पनि गोल गर्न माहिर छन् ।

सन् २०१० मा युक्रेनका लागि डेब्यु गरेका २६ वर्षे योभेनले ५३ खेलमा १३ गोल गरिसकेको छन् । युक्रेनलाई २०१६ को युरोमा छनोट गराउने क्रममा स्लोभेनिया विरुद्धको प्लेअफमा योभेन टोलीको कप्तानी सम्हालेका थिए । 

केल लाफर्टी, उत्तरी आयरल्याण्ड


उत्तरी आयरल्याण्डलाई पहिलो पटक युरोपको ठुलो प्रतियोगिता युरोमा छनोट गराउन महत्वपुर्ण भुमिका खेलेका केल लाफर्टीले छनोटमा ७ गोल गरेका थिए । 

उनकै प्रेरणादायी प्रदर्शनमा उत्तरी आयरल्याण्ड रोमानिया र हंगेरी रहेको समुहबाट शीर्ष स्थानमा रहँदै छनोट भएको थियो । त्यसपछि उनलाई उत्तरी आयरल्याण्डका राष्ट्रिय हिरो मान्न थालिएको छ ।

सन् २००६ मा उत्तरी आयरल्याण्डका लागि डेब्यु गरेका लाफर्टीले ५१ खेल खेल्दै १७ गोल गरिसकेको छन् । फरवार्डको भुमिकामा खेल्ने लाफर्टी इंग्लिस क्लब नर्विच सिटीबाट हाल बर्मिहङ सिटीमा लोनमा आवद्ध भएका छन् । 

लुका मोडरिक, क्रोएसिया


स्पेनिस क्लब रियल मड्रिडलाई ११ औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका ३० वर्षे मोडरिक क्रोएसियाका भरपर्दा खेलाडी हुन् । स्पेन, टर्की, चेक रिपव्लिक जस्ता राष्ट्र रहेको समुह चरणबाट अगाडी बढ्न मोडरिचकको प्रदर्शन क्रोएसियाको लागि महत्वपुर्ण हुनेछ ।

मेकरको भुमिकामा खेल्ने मोडरिकलाई आफ्नो पोजिसनमा खेल्ने वर्तमान विश्वकै उत्कृष्ट खेलाडी मानिन्छ ।
सन् २००६ मा अर्जेन्टिना विरुद्धको खेलमा क्रोएसियाको लागि डेब्यु गरेको मोडरिकले ९० खेल खेल्दै १० गोल गरेका छन् ।  

अद्रा टुरान, टर्की


टर्कीका कप्तान तथा लेजेण्ड खेलाडी हुन् अद्रा टुरान । स्पानिस क्लब एथ्लेटिको मड्रिडमा उत्कृष्ट प्रदर्शन गरेपछि टुरान सन् २०१५ मा अर्को स्पानिस क्लब बार्सिलोना गएका थिए । सन् २००६ मा टर्कीका लागि डेब्यु गरेका टुरानले सन् २००८ को युरोमा टर्कीलाई सेमिफाइनलसम्म पुरेयाउन महत्वपुर्ण भुमिका खेलेका थिए ।

२९ वर्षे टुरानले टर्कीका लागि ९० खेल खेलिसकेका छन् भने १७ गोल गरेका छन् । गत सिजन बार्सिलोनाका लागि नियमित खेल्न नपाएपनि युरोमा भने टुरानबाट टर्कीले ठुलै आशा राखेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell