PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

उपराष्ट्रपतिले दिए चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्ने निमन्त्रणा पत्र



रासस

उपराष्ट्रपतिले दिए चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्ने निमन्त्रणा पत्र

काठमाडौँ : चीनको भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेको पत्र चिनियाँ उपप्रधानमन्त्रीलाई आज हस्तान्तरण गरेका छन्। 

उनले आज सो पत्र चीनका उपप्रधानमन्त्री वाङ याङलाई चीनको युन्नान प्रान्तको कुन्मिङमा भएको भेटमा हस्तान्तरण गरेका हुन्। 

चीन भ्रमणमा रहेको उपराष्टपति पुन नेतृत्वको नेपाली टोलीले आज कुन्मिङका विभिन्न कार्यक्रममा भाग लिनुका साथै चीन सरकारका उच्च पदाधिकारीसँग भेटघाट गरेको छ। 

आज बिहान उपराष्ट्रपति पुनले चौथो चीन साउथ एसिया एक्स्पो र २४औँ कुन्मिङ मेला भएको स्थान दियान्ची अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रको अवलोकन गरे। 

मेलामा रहेका १०० भन्दाबढी कक्षको अवलोकनपछि उनले उद्घाटन वक्तव्य दिए। उनले सो अवसरमा चीन र दक्षिण एसियाबीच आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको आदानप्रदानका लागि एक्स्पो महत्वपूर्ण हुने बताए। 

बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आज प्रकाशित प्रेस विज्ञप्तिअनुसार उपराष्ट्रपति पुनले एक क्षेत्र एक सडक पहलकदमीबाट क्षेत्रीय विकासमा सहयोग गर्नुका साथै हाम्रा आर्थिक सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

उपराष्ट्रपति पुन, चीनका उपप्रधानमन्त्री वाङ तथा अन्य दक्षिण एसिया र दक्षिणपूर्व एसियाका उच्च नेताहरुले एक्स्पो र व्यापार मेलाको संयुक्तरुपमा उद्घाटन गरेका थिए। 

आजै अपराह्न उपराष्ट्रपति पुनले ११औँ चाइना साउथ एसिया बिजिनेस फोरमलाई सम्बोधन गर्दै २१औँ शताब्दीको एसियाली सपना पूरा गर्न चीन र दक्षिण एसियाका देशबीच सहयोगमा जोड दिए। उनले सहभागी प्रतिनिधिमण्डलहरु र व्यवसायीलाई नेपाल आएर विभिन्न प्राकृतिक स्रोतहरुमा ठूलो स्तरमा लगानी गर्न आह्वान पनि गरे। 

समारोहपछि उपराष्ट्रपति पुनले कुन्मिङ टेलिभिजनलाई अन्तरवार्ता दिए। उनले नेपाल चीन सम्बन्धबारे बोल्नुहुँदै चिनियाँ व्यवसायीलाई नेपाल आएर लगानीका अवसर खोज्न आमन्त्रण गरे। 

आजै चीनका उपप्रधानमन्त्री वाङ याङले उपराष्ट्रपतिसँग भेट गरी विचारको आदानप्रदान गरे। उनीहरुले नेपाल– चीनबीच हालका वर्षहरुमा राजनीतिक, आर्थिक र सामाजिकलगायतका क्षेत्रमा सम्पर्क बढ्दै गएको उल्लेख गरे। 

सो अवसरमा उपराष्ट्रपति पुनले नेपाली जनता चीनका राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए। उनले चिनियाँ आर्थिक सहायता, सहयोगका नयाँ क्षेत्र तथा हालै नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गरेपछि सुरु भएका सहयोगका आयोजना समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 

चिनियाँ उपप्रधानमन्त्री वाङले चीनले नेपाललाई आपसी सम्मान र समानताका आधारमा सहयोग जारी राख्ने बताए। उनले चिनियाँ व्यवसायीलाई नेपालमा लगानीका लागि आमन्त्रण गरेकोमा उनीहरुलाई प्रोत्साहन र सहयोग गर्ने बताउँदै नेपालमा राजनीतिक स्थिरता र लगानीमैत्री वातावरण हुनुपर्नेमा जोड दिए। 

उनले अझ धेरै व्यापारिक अन्तक्र्रिया तथा जनस्तरमा सांस्कृतिक आदानप्रदान हुनुपर्ने पनि बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell