
विश्व विजेता जर्मनीले फ्रान्समा जारी युरोकपमा विजयी सुरुवात गरेको छ। समुह सी अन्तर्गत गएराती भएको खेलमा जर्मनीले युक्रेनलाई २–० ले पराजित गरेको हो।
खेलको दुवै हाफमा जर्मनीले युक्रेन विरुद्ध एक एक गोल गरेको थियो। १९ औं मिनेटमा स्क्रोड्रान मुस्ताफीले हेडमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।
एक गोलले पछि परेको युक्रेनले निर्धारित ९० मिनेट भित्र जर्मनी विरुद्ध बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन। उसले केही गोलका अवसर सिर्जना गरेपनि गोल गर्न असफल रहे।
यता जर्मनीको लागि भने इन्जुरी टाइममा बास्टिन स्वाइन्स्टाइगरले गोल थपे। ९० औं मिनेटमा मारियो गोट्चाको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका स्वाइन्स्टाइगरले त्यसको दुई मिनेटपछि गोल गरेका हुन्।
युरोकप कपको इतिहासमा पहिलो खेल कहिल्यै नहारेको जर्मनीको लागि युक्रेन विरुद्धको जित तीन अंक जोड्न महत्वपुर्ण भएपनि त्यसलाई उत्कृष्ट जित मान्न नसकिने फुटबल विश्लेषकहरुले बताएका छन्।
जितपछि ३ अंक जोडेको जर्मनी समुह सी को शीर्ष स्थानमा छ। यस्तै समुहमा उत्तरी आयरल्याण्डलाई पराजित गर्दै पोल्याण्डले पनि ३ अंक जोडेको छ ।