काठमाडौं : शनिबारदेखि शृंखलाबद्ध एनसेल टावरमा आगजनी हुँदै आएकोमा चितवनमा रहेको टावरमा पनि गएराति अज्ञात समूहले आगजनी गरेको छ।
गएराति साढे १० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
भरतपुर उपमहानगर–६ शान्ति चोकमा रहेको सो टावरमा उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर भागेको जनाइएको छ। आगजनीबाट टावरमा क्षति पुगेको र विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। स्थानीयले जानकारी दिएपछि तत्काल नै वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।
आगजनी गर्ने समूहको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसअघि विभिन्न जिल्लामा यस्ता घटनामा विप्लव माओवादी संलग्न रहेको समाचार आएका थिए। कतिपय ठाउँमा सो पार्टीले घटनाको जिम्मेवारी पनि लिएको छ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कम्पनीको बेस स्टेसनमा आक्रमण जारी राख्दै थप दूरसञ्चार पूर्वाधारमा भौतिक क्षति पुर्याउने कार्यको भर्त्सना गरेको छ। सञ्चारजस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोबाइल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानुनी तथा गम्भीर अपराध भएको उसको ठहर छ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले आइतबार पोखरामा आयोजित एक कार्यक्रममा एनसेल टावरमा आक्रमण गर्नेहरुलाई कानुनको दायरामा ल्याउने घोषणा गरेको १२ घन्टामै चितवनमा आगजनी भएको हो।
यस्तो घटनाप्रति सरकारको ध्यानकर्षण भएको बताउँदै उनले आक्रमण हुन सक्ने ठाउँमा कडा सुरक्षा प्रबन्ध मिलाउने बताएका थिए।