पर्सा : पर्साको शङ्करसरैया गाविसमा लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ। गाविसको वडा नं ८ मा पर्ने भलुवही खोलाको बगरमा गएराति ११ : ४५ बजेको समयमा प्रहरी र गाँजा तस्करबीच दोहोरो गोली हानाहान भएको हो।
पर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी मकवानपुरबाट पर्सा भित्र्याउन लागिएको प्रतिबन्धित आगुऔषध गाँजा र चरेस नियन्त्रणमा लिन लुकेर बसेका सुरक्षाकर्मीलाई लक्ष्य गरी तस्करहरुले गोली प्रहार गरेका थिए। सोही क्रममा प्रतिकारमा दुई राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए।
गोली हानाहानमा दुवैतर्फ कुनै मानवीय क्षति नभएको बताइएको छ।
प्रहरीले प्रतिकार गरेपछि अँध्यारोको फाइदा उठाउँदै तस्कर फरार भएका छन्। भिडन्तपछि घटनास्थल निरीक्षण गर्दा प्रहरीले १० वटा पोकामा एक सय किलो गाँजा फेला पारेको छ। घटनामा संलग्न गाँजा तस्करको पहिचान भएको र उनीहरुको खोजी भइरहेको प्रवक्ता बोगटीले बताए।
मकवानपुर, धादिङ, चितवन लगायतका जिल्लामा उत्पादन भएको लागुऔषधलाई भरियाको मद्दतले पर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी कारोबारीले पर्सा भित्र्याउने गरेका छन्। रातिको समयमा भित्र्याइने लागुऔषधलाई कारोबारीले अर्को दिन रातकै समय भारततर्फ पठाउने प्रहरीको दाबी छ।