PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

​नयाँ शक्तिको बन्दसत्र जारी, तीन प्रतिवेदन पेस



रासस

​नयाँ शक्तिको बन्दसत्र जारी, तीन प्रतिवेदन पेस


काठमाडौँ : नयाँ शक्ति नेपालको पार्टी घोषणापछि जारी बन्दसत्रमा तीन प्रतिवेदन पेस भएका छन्।
 
आज प्रज्ञा भवन कमलादीमा सुरु बन्दसत्रमा संयोजक डा. बाबुराम भट्टराईले ‘नयाँ शक्तिका आधार तत्वहरु’, सचिवालय सदस्य देवेन्द्र पौडेलले ‘साङ्गठनिक सिद्धान्त र विधान’ र अर्का सचिवालय सदस्य रामेश्वर खनालले ‘विकास र समृद्धिको खाका’ विषयक प्रतिवेदन पेस गरेका हुन्।
 
प्रतिवेदन पेस गरिएपछि तीनवटै विषयमा छलफलका लागि प्रतिनिधिलाई १२ समूहमा विभाजन गरिएको छ। आज प्रतिनिधिले छलफल गरी प्राप्त भएका सुझावका आधारमा मङ्गलबार प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यक्रम रहेको पार्टीका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए।
 
शनिबार सङ्घीय जनमुक्ति पार्टी छोडी नयाँ शक्तिमा प्रवेश गरेका परशुराम तामाङले पनि आजको बन्दसत्रमा आफ्नो विचार राखेका थिए।
 
बन्दसत्रमा ७५ जिल्ला संयोजक, ६३ जिल्ला काठमाडौँ सम्पर्क समितिका संयोजक, २४० निर्वाचन क्षेत्र संयोजक, ५ सय सदस्य बराबर एक, एक हजार सदस्य बराबर दुई र एक हजारभन्दा बढी सदस्यबाट तीन प्रतिनिधिको दरले सहभागिता रहेको पार्टी निकटको नेपाल प्रेस सोसाइटीका संयोजक रुद्र भट्टले बताए।
 
बन्दसत्रमा सातै प्रदेश सचिवालयका सदस्य, पार्टीको आङ्गिक सङ्गठन र पेसागत सङ्गठन एवम् भारत, कोरिया, अस्ट्रेलिया, दुबई, अमेरिका, मलेसिया, पोर्चुगल, बेलायत, फ्रान्सलगायत २४ देशका प्रवास समितिका गरी एक हजार ५ सयभन्दा बढी प्रतिनिधि एवम् पर्यवेक्षकको सहभागिता छ। 
फोटो : बाबुरामको फेसबुक पेजबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell