
काठमाडौँ : युरो कप फुटबलमा आज पनि तीन खेल हुँदैछन्। नेपाली समय अनुसार साँझ ६:४५ मा हुने पहिलो खेलमा स्पेनले चेक गणतन्त्रसँग खेल्दैछ भने ९:४५ हुने दोस्रो खेलमा आयरल्याण्डले स्वीडेनको सामना गर्दैछ। मध्यरात १२:४५ मा हुने अर्को खेलमा भने बेल्जियम र इटाली भिड्दैछन्।
त्यसो त खेलमा जितहारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी अनुमान र भविष्यवाणी गर्ने क्रम जारी हुन्छ। सन् २०१० को विश्वकपमा पाउल नामको अक्टोपसले गरेको भविष्यवाणी चर्चामा आएको थियो।
भविष्यवाणी मिल्ने/नमिल्ने आफ्नो ठाउँमा छ। तर ज्योतिष के भन्छन्, यसबारे जानकारी लिन हामी युरोकप २०१६ का खेल अगाडि नै हरेक खेलको ज्योतिषको भविष्यवाणी राख्दैछौँ। खेल सकिएपछि त्यो भविष्यवाणी सही भयो कि भएन, त्यसको अपडेट पनि यसमैमा गरिनेछ।
को जित्ने, को हार्ने?
ज्योतिष डा. सुनिल सिटौला दिउँसो २ बजेर ३५ मिनेटको शासकीय ग्रह गणित अनुसार स्पेन र चेक गणतन्त्र मा स्पेनले जित्ने भविष्यवाणी गरेका छन्।आयरल्याण्ड र स्वीडेनबीचको खेलमा भने स्वीडेनको जीतको सम्भावना रहेको बताउँछन्। त्यस्तै बेल्जियम र इटालीबीच हुने खेलमा बेल्जियमको जीतको सम्भावना रहेको उनको भविष्यवाणी छ।
'शासकीय ग्रहमध्ये शुक्र वक्री ग्रहको नक्षत्रमा अवस्थित छ', सिटौला बेल्जियम र इटालीको खेलबारे भन्छन्, 'यस्तोमा केही अपवाद आउन सक्ने सम्भावना पनि रहन्छ, जुन हरेक विज्ञानमा हुन्छ।'
सिटौला आफ्नो भविष्यवाणीको पक्षमा तर्क गर्दै भन्छन्, 'ज्योतिषले प्रश्नमाथि चिन्तन गर्दाको लग्नेस, लग्न नक्षत्रेस, चन्द्र रासिस, चन्द्र नक्षत्रेस र वारेसलाई शासकीय मान्छ र त्यसको केही जोड घटाउ गरेर सटीक फलादेश गर्छ।'
उनले आइतबार गरेको सबै तीन खेलको भविष्यवाणी मिलेको थियो तर शनिबारका भने दुई खेलको भविष्यवाणी गलत भयो।
सिटौला आफ्ना अधिकांश फलादेश सही भएको दावी गर्छन्। अण्डर २३ विश्वकप फुटबल र अन्डर १९ क्रिकेटमा आफ्नो भविष्यवाणी सही भएको जिकिर गर्छन्।
नतिजा : खेल सकिएपछि उनको भविष्यवाणी सही भयो कि भएन यसैमा अपडेट हुनेछ।
स्पेन Vs चेक गणतन्त्र। भविष्यवाणी: स्पेन विजयी। नतिजाः सहीआयरल्याण्ड Vs स्वीडेन। भविष्यवाणी: स्वीडेन विजयी। नतिजाः गलत। बराबरी भयो।
बेल्जियम Vs इटाली। भविष्यवाणी: बेल्जियम विजयी। नतिजाः गलत। इटाली विजयी।