PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

आजका खेलका हेर्नलायक ६ खेलाडी



पहिलोपोस्ट

आजका खेलका हेर्नलायक ६ खेलाडी

सेस फाब्रेगास, स्पेन


सन् २०१२ मा फल्स नाइनमा सफल रुपमा प्रयोग भएका खेलाडी हुन् सेस फाब्रेगास। स्पेनले २००८ देखि २०१२ सम्म महत्वपूर्ण तीन उपाधि जित्दा फाब्रेगासको पनि महत्वपूर्ण योगदान रहेको थियो। स्पेनका लागि पहिलो रोजाइमा विरलै पर्ने फाब्रेगास महत्वपूर्ण समयमा निर्णायक प्रदर्शन गर्ने खेलाडीका रुपमा चिनिन्छन्।
 
२००८ को युरो अन्तर्गत इटली विरुद्धको पेनान्टी सुटआउटमा फाब्रेगासले निर्णायक गोल गरेका थिए भने २०१० को विश्वकप र २०१२ को युरोकपमा स्पेनले जित्दा गोलका लागि असिस्ट गरेका थिए। २९ वर्षे फाब्रेगासका स्पेनको लागि १०४ खेल खेल्दै १४ गोल गरेका छन्। स्टार फरवार्ड डिएगो कोस्टा र फर्नान्डो टोरेसको अनुपस्थितिमा स्पेनको लागि पेड्रो र अल्भारो मोराटाका प्रदर्शन हेर्न लायक हुने अपेक्षा गरिएको छ।
 

पिटर चेक, चेक


चेक रिपब्लिकबाट युरोपियन लिगमा खेल स्टार खेलाडी हुन्, पिटर चेक। गोलपोस्टको जिम्मेवारी सम्हाल्ने पिटर चेक टोलीका भरपर्दा खेलाडी हुन्।
 
सन् १९९७ मा चेकको यु १५ टोलीबाट करियर सुरु गरेका उनले त्यसपछि चेक रिपब्लिकको सबै उमेर समूहबाट खेले। उनले सन् २००२ मा चेकको राष्ट्रिय टीममा डेब्यु गरेका थिए। त्यसपछि १४ वर्ष टीमको नम्बर वन गोलरक्षको बनेका उनलाई अझैसम्म कसैले प्रतिस्थापन गर्न सकेको छैन।
 
३४ वर्षे पिटरले चेक रिपब्लिकको लागि १२१ खेलमा सहभागिता जनाइसकेका छन् जुन सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान हो।
 

एडेन हाजार्ड, बेल्जियम


यस पटकको युरोकप कप्तानी सम्हाल्ने हाजार्ड सबैभन्दा कान्छा खेलाडी हुन्। नियमित कप्तान भिनसेन्ट कोम्पनी चोटका कारण युरोबाट बाहिरिएपछि प्रशिक्षकले २५ वर्षे हाजार्डलाई आमब्याण्डको जिम्मेवारी दिएका छन्।
 
इंग्लिस क्लब चेल्सीका लागि गत सिजन उल्लेख्य प्रदर्शन गर्न नसके पनि बेल्जियमका लागि भने हाजार्डले राम्रो प्रदर्शन गर्दै आएका छन्। गतवर्ष उनले रेड डेभिलका लागि ५ गोल गरेका थिए। सन् २००८ मै बेल्जियमका लागि डेब्यु गरेका हाजार्डले २०११ मा पहिलो गोल गरे।
 
बेल्जियमका लागि उनले ६३ खेलमा १२ गोल गरिसकेका छन्। केभिन डे ब्रुएन उत्कृष्ट फर्ममा रहे पनि बेल्जियमका लागि खेल परिवर्तन गर्न सक्ने खेलाडीका रुपमा कप्तान हाजार्ड रहेका छन्।
 

ड्यानियल डे रोसी, इटली


डे रोसी वर्तमान इटालियन टीममा गोलरक्षक जियानलुजी बफोनपछि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् भने समग्रमा इटलीका लागि धेरै खेल खेल्नेमा छैटौं स्थानमा छन्। मिडफिल्डमा आन्द्रे पिर्लो, मार्को भेराट्टी, क्लायडियो मार्चिसियो जस्ता मुख्य खेलाडीहरु अनुपस्थित रहेको अवस्थामा इटलीको मुख्य जिम्मेवारी डे रोसीको काँधमा आएको छ।
 
सन् २००४ मा राष्ट्रिय टीमका लागि डेब्यु गरेका रोसी नियमित रुपमा इटालियन टीमको सदस्यका रुपमा रहेका छन्। ३२ वर्षे रोसीले इटलीका लागि अहिलेसम्म १०३ खेलमा १८ गोल गरिसकेका छन्। डे रोसी इटलीको लागि सर्वाधिक गोल गर्ने मिडफिल्डर समेत हुन्।
 

ज्लाटन इब्राहिमोभिच, स्विडेन


चार फरक राष्ट्रको लिग उपाधि जित्ने खेलाडी हुन्, इब्राहिमोभिच। ३४ वर्षको उमेरमा पनि गोल गर्न माहिर रहेको उनको लागि स्विडेनको तर्फबाट यो नै अन्तिम प्रतियोगिता हुन सक्नेछ। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनलाई लगातार चौथो पटक फ्रेन्च लिग वान उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका इब्राहिमोभिचले स्विडेनलाई युरोमा छनोट गराउन समेत महत्वपूर्ण भुमिका खेलेका थिए।
 
धेरै महत्व दिएको भन्दै स्विडेनका प्रशिक्षक एरिक हामरेनको आलोचना भए पनि इब्राहिमोभिचले छनोट चरणमा स्विडेनले गरेको १९ मध्ये ११ गोल गर्दै आफूलाई प्रमाणित गरिसकेका छन्। बेष्ट सेलिङ अटोबायोग्राफी ‘आई एम ज्लाटन’ प्रकाशन गरेका इब्राहिमोभिच स्विडेनका सर्वाधिक गोलकर्ता समेत हुन्।
 
३४ वर्षे उनले ११२ खेलमा ६२ गोल गरिसकेका छन्। युरोकपमा ६ गोल गरिसकेका ज्लाटन र रोनाल्डोले यसपटक फ्रान्सका मिचेल प्लाटिनीको नाममा रहेको सर्वाधिक ९ गोलको रेकर्ड तोड्ने अपेक्षा गरिएको छ। बेल्जियम, इटली र नर्दन आयरल्याण्ड रहेको समूहमा रहेको स्विडेनका लागि अघिल्लो चरण प्रवेश गर्न ज्लाटनको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ।
 

सेन लङ, आयरल्याण्ड


सेन लङ आयरल्याण्डका मुख्य फरवार्ड हुन्। कप्तान रोबी केन पहिलो रोजाइमा पर्ने सम्भावना कम रहेको बेला आइरिस टोलीका लागि गोल गर्ने मुख्य खेलाडीको रुपमा हेरिएको छ।
२९ वर्षे लङले आयरल्याण्डका लागि ६३ खेलमा १६ गोल गरिसकेका छन्। लङले सन् २००७ मा आयरल्याण्डका लागि डेब्यु गरेका थिए। उनले युरो २०१६ को छनोटमा गरेको निर्णायक गोल मद्दतमा आयरल्याण्डले जर्मनीलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell