
काठमाडौँ : डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीलाई ‘चटके’ भन्दै आलोचना गरेको छ।
‘प्रधानमन्त्रीका बोली, वचन र कर्ममा देशप्रतिको संवेदनशीलता र गम्भीरताभन्दा बढी हल्काफुल्का, सतही टिप्पणी गर्दै हिँड्ने आत्मतुष्टिको शैली देखिएको छ’, भट्टराईले आजदेखि सुरु भएको नयाँ शक्तिको छलफल सत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा लेखिएको छ, ‘विगत सरकारका पालमा नै शुरुवात भएका कतिपय जनप्रिय कार्यहरुको भद्दा बजारीकरण गर्ने कार्यमा अहिले यो सरकार लगेको छ।‘
सरकारको आलोचना गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘सरकारको चरित्र र काम गर्ने तरिका हेर्दा यो सरकारले ठीक बाटो लिइरहेको पटक्कै देखिँदैन। सत्तास्वार्थले राजावादीदेखि साम्यवादीसम्म, संघीयतावादीदेखि संघीयताविरोधीसम्म, धर्मनिरपेक्षतावादीदेखि हिन्दूवादीसम्म, पहिचानवादीदेखि पहिचान भनेको जातीय विग्रह हो भन्नेसम्म सबै सरकारमा छन् । सरकारको कुनै प्रष्ट नीति, संहिता र कार्यदिशा देँखिदैन।‘
‘मिलीजुली बसौं, बाँडीचुडी खाऔं’ भन्ने भन्दा बढी सरकारको कुनै प्रष्ट भिजन, मिसन छैन’, प्रतिवेदनमा छ। कांग्रेसको आलोचना गर्दै नयाँ शक्तिले विश्लेषण गरेको छ, ‘आधिकारिक तथा वैधानिक प्रतिपक्ष भनिएको नेपाली कांग्रेसको भूमिका पनि सत्ताअभिलाषका खुजुरा खेलहरुमा नै सीमित छ। फलतः हामीले वास्तविक प्रतिपक्षको भूमिका निभाउनु पर्ने भएको छ।‘
‘राजनीतिक गतिरोधको निकास दिन सरकार बाधक तत्वका रुपमा प्रस्तुत हुँदैछ’, नयाँ शक्तिको प्रतिवेदनमा सरकारको कार्यशैलीको विश्लेषण गर्दै लेखिएको छ, ‘सरकारको कार्यशैली सर्वसत्तावादतिर ढल्किदै जाने हो कि भन्ने संभावना पनि देखिएको छ।‘
‘अति नै सकारात्मक सोच राखेर समर्थन गर्ने बिन्दू खोज्दा पनि कतै केही नभेटिनु नै यो ओली सरकारको यथार्थ हो’, प्रतिवेदनको ठहर छ।
आफ्नो औचित्य पुष्टि गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘अहिले जुन ढंगले सरकार बनाउने र गिराउने पुरानै फोहरी संसदीय खेलको पुनरावृत्ति भैरहेछ, त्यसले नयाँ शक्ति निर्माणको औचित्य अरु पुष्टि गरिरहेछ।‘