
प्रतियोगिताअघि उपाधि दाबेदारमध्येको एक उरुग्वे दुई खेल खेलेपछि नै कोपा अमेरिका सेन्टेनारियोबाट बाहिरियो।
एक खेलअघि समूह चरणबाटै बाहिरिइसकेको उरुग्वेले समूह सी को अन्तिम खेलमा भने सान्त्वना जित हासिल गरेको छ। प्रतियोगिता अन्तर्गत मंगलबार बिहान अमेरिकाको लेभिज स्टेडियममा भएको खेलमा उरुग्वेले जमैकालाई ३–० गोल अन्तरले हरायो।
उरुग्वेका लागि खेलको २१ औं मिनेटमा एबेल हर्नान्डेजले पहिलो गोल गरे। ६७ औं मिनेटमा जमैकाका जे भउगन वाट्सनले आत्मघाती गोल गरेपछि उरुग्वेले २–० को अग्रता लियो।
खेल सकिनु एक मिनेटअघि माथिएस करुजोले गोल गरेपछि उरुग्वेले ३–० को जित हात पारेको हो। समूह सी मा तीन अंक जोडे पनि उरुग्वे तेस्रो स्थानमै सीमित रह्यो।
यसअघि नै शीर्ष दुई स्थानमा रहेर मेक्सिको र भेनेजुएला क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन्। उरुग्वे पहिलो खेलमा मेक्सिकोसँग ३–१ र दोस्रो खेलमा भेनेजुएलासँग १–० पराजित भएको थियो।