PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

४० वर्षे गोलरक्षक ‘हंगेरियन पाइजामा म्यान’ युरो रेकर्ड नजिक



पहिलोपोस्ट

४० वर्षे गोलरक्षक ‘हंगेरियन पाइजामा म्यान’ युरो रेकर्ड नजिक

कुनै बेलाको फुटबल पावर हाउस हंगेरीको नाम लिनेबित्तिकै फेरेन्च पुस्कासको नाम स्वत: आउँछ। सन् ५० को दशकको फुटबलमा हंगेरी उत्कृष्ट थियो भने पुस्कास विश्वकै उत्कृष्ट।

सम्भवत: अब हंगेरीको फुटबल इतिहासमा अर्को नाम पनि जोडिँदैछ। त्यो जोड्ने कामको नजिक छन्, ४० वर्षे गोलरक्षक गाबोर किरली।
विश्व फुटबलकै एक स्टार पुस्कास हंगेरीको सर्वाधिक गोलकर्ता हुन् भने गाबोर हंगेरीका लागि सर्वाधिक खेल खेल्ने खेलाडी। हंगेरीका लागि १०३ क्याप जितेका गाबोर युरोकपमा रेकर्ड राख्ने तयारीमा छन्।

गाबोरबाहेक जोसेफ बोजिकले मात्र हंगेरीका लागि सयभन्दा बढी खेलेका छन् । फ्रान्समा जारी युरोकप खेल्न छनोट भएका ५५२ खेलाडीमध्ये सबैभन्दा पाका खेलाडी हुन् किरली ।

पाइजामा म्यानको रुपमा परिचित किरलीले सन् १९९८ मा हंगेरीका लागि डेब्यु गरेका थिए। करिब दुई दशक हंगेरियन फुटबलको गोलपोस्ट सम्हाल्दै आएका किरली अझै पनि हंगेरीका नम्बर वान गोलरक्षकका रुपमा चिनिन्छन्। उनलाई चुनौती दिने अझैसम्म कोही आएका छैनन्।
जोगिङ ट्रयाकसुट्स लगाएकै कारण उनलाई पाइजामा म्यानको रुपमा चिन्न थालियो। उनले भने मैदानमा आफ्नो घुँडा जोगाउनकै लागि ट्रयाकसुट लगाएको बताएका थिए।

सन् १९९३ मा घरेलु क्लब हालादासबाट क्लब करियर सुरु गरेका किरलीले इंग्लिस क्लब क्रिस्टल प्यालेज, बर्नले, फुलहम, एस्टन भिल्ला जस्ता क्लबमा खेलेका थिए। गतवर्ष फुलहमबाट किरली पुन: पुरानै कलब हालादास फर्केका छन्।

युरोकप अन्तर्गत समुह ई को खेलमा आज मध्यरात १२ : ४५ बजे हंगेरी र अष्ट्रिया आमनेसामने हुँदैछन् र त्यो खेलमा सबैभन्दा ठूलो विशेषताको रुपमा किरली रहनेछन्।
किरली अष्ट्रियाविरुद्ध मैदान उत्रे उनले जर्मनीमा लोथर म्याथ्युजको नाममा रहेको १६ वर्षको रेकर्ड तोड्दै आफ्नो नाममा नयाँ रेकर्ड कायम गर्नेछन्। म्याथ्युजले सन् २००० मा ३९ वर्ष ९१ दिनको हुँदा पोर्चुगलविरुद्ध खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell