PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो छ अम्बर गुरुङले बाँचुन्जेल सार्वजनिक गर्न नचाहेको गीत, सुन्नुस् अडियो



फणीन्द्र संगम

यस्तो छ अम्बर गुरुङले बाँचुन्जेल सार्वजनिक गर्न नचाहेको गीत, सुन्नुस् अडियो

काठमाडौं : भनिन्छ– सर्जकहरुको भौतिक शरीर पो मरेर जान्छ, उनीहरुको सिर्जना अजर-अमर भइराख्छ। अनन्तसम्म बाँचिरहन्छन् उनीहरु, सिर्जनामार्फत्l

सर्जकको अन्त्यपछि जब उसको सिर्जना रहस्य बनेर सार्वजनिक हुन थाल्छ, त्यो सुखद आश्चर्य हुने रहेछ। 

अम्बर गुरुङले कुनै बेला भनेका थिए, ‘म मरेपछि मात्र यो गीत सार्वजनिक गर्नू।’

यिनै संगीतका पर्याय अस्ताएको हप्तादिन नबित्दै त्यही गीत सार्वजनिक भयो, जुन उनले बाँचुन्जेल कहिल्यै पनि बाहिर ल्याउन चाहेनन्।


नेपाली जातीय गीतको पक्षमा

शान्त, गम्भीर, वादविवादमा आउन नचाहने, एकान्तप्रेमी र निरन्तर संगीत साधनामै रहिरहने। संगीतज्ञ अम्बर गुरुङको स्वभाव यस्तै थियो।  
समकालीन र चेलाहरु समेत अन्तरमुखी स्वभावका भनेर चिनाउँछन् अम्बरलाई। उनको भौतिक शरीरको अवसान भएको आज ठ्याक्कै एक साता बितेको छ। उनका रहस्यका पोकाहरु बिस्तारै खुल्दैछन्। 

एउटा लाइभ सांगीतिक कार्यक्रममा रेकर्ड भएको गीत १९ वर्षपछि सार्वजनिक गरिएको छ। 

‘सुगौली सन्धि हामीले बिर्सेका छैनौं भनिदेऊ’ बोलको गीत पहिलोपटक सार्वजनिक भयो, रेडियो सगरमाथाबाट। उनी बितेकै भोलिपल्ट जेठ २६ गते रेडियोको कार्यक्रम ‘खुलामञ्च’मार्फत् यसलाई सार्वजनिक गरियो।

उज्यालो एफएमको कार्यक्रम ‘अजर अमर गीतहरु’ मार्फत पनि लेखक तथा संगीतका अनुसन्धाता प्रकाश सायमीले यो गीत बजाए। योभन्दा अझ ‘कडा’ गीत पहिले नै रेकर्ड भएर बाहिर आए पनि यसलाई रहस्यमै राखेकोमा अचम्म लागेको छ सायमीलाई। ‘भारतले २०४५ सालमा नाकाबन्दी लगाएको बेला जनजागरण अभियानमार्फत टोलीसहित उहाँले सीमानाहरुमा गाउँदै हिँड्नुभयो। यसको शब्द निकै तिखो छ,’ उनी भन्छन्, ‘सुगौली सन्धिमाथिको यो गीत भने किन जीवनकालमै बाहिर ल्याउन चाहनुभएन अचम्म लागेको छ।’ होसियार बोलको गीत २०३५ सालमा रेकर्ड भएको बताउँछन् सायमी।

यस्तो थियो, नाकाबन्दीका बेला निकै चर्चा पाएको गीत- 

नेपाली-भाषीमाथिको थिचोमिचो र शोषणबारे अम्बरले धेरै गीत सिर्जना गरेका छन्। दार्जिलिङमै रहँदा उनी यही कारण पटकपटक राज्य आँखाको तारो पनि बने। उनले ‘पहाड सुक्यो जस्तो लाग्छ उसले देश बिर्सियो जस्तो लाग्छ’ गीत पनि दार्जिलिङतिर गाउँदै हिँडे तर रेकर्ड भएन। ‘यसैको प्रत्युत्तरमा लेखिएको ‘पहाड सुकेको छैन भनिदेऊ’ गाएका नारायणगोपाल र गोपाल योञ्जनचाहिँ हिट भए,’ सायमी सम्झन्छन्।


विवादास्पद गीतको कथा

अम्बरको पहिलो रेकर्डेड गीत ‘नौलाख तारा उदाए’ नै भारतमा प्रतिबन्धित भयो। 

सन् १९६१ मा रेकर्ड भएको यो गीतका केही शब्दमा आपत्ति जनाउँदै अल इन्डिया रेडियोले प्रतिबन्ध लगाएको थियो।

सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट मुक्त भए पनि नेपालीभाषी भारतीयहरुले स्वतन्त्रताको अनुभव गर्न पाएका थिएनन्। दार्जिलिङ, सिक्किम, गान्तोक, सिलिगुढी, आसाम लगायतका भूभागमा रहेका नेपालीहरुले राज्य सरकारबाट अपमानको महसुस गर्न थालेका थिए। पछि लेखक इन्द्रबहादुर राईहरुले दार्जिलिङबाट भाषा आन्दोलन सुरु गरे। त्यही आन्दोलनको दौरान अम्बरले संगीतबाट साथ दिए र गाए-

सुगौली सन्धि हामीले बिर्सेका छैनौं भनिदेऊ
किल्ला काँगडा हामीले बिर्सेका छैनौं भनिदेऊ

२०१४/१५ सालतिर दार्जिलिङका ठाउँठाउँमा यो गीत गुन्जिएको बताउँछन् रेडियो सगरमाथाका तत्कालीन निर्देशक रघु मैनाली। 

यो गीतको धुनले पश्चिम बंगालमा ठूलो तरंग मच्चायो। भारत-नेपालबीचको सुगौली सन्धिमाथि टिप्पणी गरेर लेखिएको गीतलाई भारतविरोधी ठानियो। अम्बरमाथि पश्चिम बंगाल सरकारले निगरानी राख्न थाल्यो। 

‘नेपाली राजनीतिको दु:खान्त इतिहास’हो दार्जिलिङ,’ मैनाली भन्छन्, ‘नेपालीभाषीले भोगेको पीडालाई गीतमार्फत अभिव्यक्त गर्ने अम्बर गुरुङजस्ता सर्जकहरुमाथि सधैं शोषण भइरह्यो।’

विभिन्न आरोप सहेका अम्बर तत्कालीन राजा महेन्द्रले बोलाएपछि २०२६ सालमा नेपाल आए। सुगौली सन्धिमाथिको गीत गर्भमै रह्यो। न रेकर्ड भयो न त उनैले चासो देखाए। नेपालमै बस्न थालेपछि भारतसँगको सम्बन्धमाथि खलल पुग्ने भन्दै उनले रेकर्ड गराउने चासो दिएनन्।

उनका नजिकका गायक, संगीतकार र शुभचिन्तककले पटकपटक गरेको आग्रहपछि दार्जिलिङमा गाएको झन्डै चार दशकपछि रेकर्डका लागि तयार भए। तर रेकर्डिङ स्टुडियोमा होइन एउटा सांगीतिक कार्यक्रममा। डिल्लीबजारस्थित फ्रान्सेली केन्द्रमा ‘सगरमाथा अम्बर साँझ’ कार्यक्रम बनाएर २०५४ असार ६ गते अम्बरलाई प्रस्तुत गरियो। लाइभ रेकर्ड गरिएको बुझाउन अम्बरले गीतको बीचमा 'खोइ के बुझ्यौ?' भनेर सोधेका छन्।

‘उहाँले सो कार्यक्रमको लाइभ रेकर्ड गरे पनि कतै सार्वजनिक गर्न नपाइने सर्त राख्नुभएको थियो,’ उक्त कार्यक्रममा हार्मोनियममार्फत संगीत दिएका आभास सम्झन्छन्, ‘उहाँको स्वेच्छाको कुरा पनि होला, किन हो कुन्नि बाँचुन्जेल बाहिर ल्याउनै चाहनुभएन।’ नेपाल–भारत सम्बन्धमा पर्ने असरभन्दा पनि इतिहासको रुपमा सो गीतलाई संरक्षण गर्न चाहेको आभास बताउँछन्। 

उक्त कार्यक्रममा कनकमणि दीक्षित, दीप श्रेष्ठ, सुनील पोखरेल, वसन्त थापा लगायत ४० जनाजतिको उपस्थिति थियो। 

‘प्राविधिकहरु झिकाएर गीत रेकर्ड गरियो। तर त्यसको रेकर्ड कसैसँग नरहने गरी रेडियो सगरमाथाका लागि मैले जिम्मा लिएँ,’ पहिलोपोस्टसँगको कुराकानीमा रेडियो सगरमाथाका तत्कालीन निर्देशक रघु मैनालीले भने, ‘स्टेसनमा पनि ‘प्रसारण गर्न नमिल्ने’ भनेर यसलाई छुट्टै सुरक्षित राखिएको थियो।’ 

त्यस बेलाको इतिहास ठानेर रेकर्डका लागि बाध्य पारेको बताउँछन् उनी। ‘पहिलेदेखि नै रेकर्ड गराउनका लागि आग्रह गर्दा ‘नेपाल सरकार नै भारतीय दूतावासबाट चलेको छ भने किन यो गीत रेकर्ड गराइरहनुपर्‍यो’ भनेर जवाफ दिनुहुन्थ्यो,’ मैनालीले भने, ‘त्यो समयमा दार्जिलिङमा रहेका नेपालीले गरेको भाषिक-सांस्कृतिक आन्दोलनसँगै यो पनि जोडिने भयो, सुगौली सन्धिको इतिहासलाई गीतले सम्झाउँछ।’ 

सुगौली सन्धिमात्र होइन नेपाल-भारतको असन्तुलित सम्बन्धलाई गीतले प्रतीकात्मक रुपमा अर्थ्याएको छ। अम्बरको आत्मा वायुमण्डलमा
उडिरहँदा यो गीत रेडियोको तरंगमार्फत पहिलोपटक गुन्जिएको छ। 

के यो तरंगले उनको आत्मालाई स्पर्श गर्‍यो होला?​



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell