
काठमाडौँ : युरो कप फुटबलमा आज दुई खेल हुँदैछन्। नेपाली समय अनुसार साँझ ९:४५ मा अष्ट्रिया र हंगेरी भिड्दैछन् भने मध्यरात १२ : ४५ मा हुने अर्को खेलमा आइसल्याण्ड र पोर्चुगलबीच भिडन्त हुदैँछ।
त्यसो त खेलमा जितहारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी अनुमान र भविष्यवाणी गर्ने क्रम जारी हुन्छ। सन् २०१० को विश्वकपमा पाउल नामको अक्टोपसले गरेको भविष्यवाणी चर्चामा आएको थियो।
भविष्यवाणी मिल्ने/नमिल्ने आफ्नो ठाउँमा छ। तर ज्योतिष के भन्छन्, यसबारे जानकारी लिन हामी युरोकप २०१६ का खेल अगाडि नै हरेक खेलको ज्योतिषको भविष्यवाणी राख्दैछौँ। खेल सकिएपछि त्यो भविष्यवाणी सही भयो कि भएन, त्यसको अपडेट पनि यसमैमा गरिनेछ।
को जित्ने, को हार्ने?
ज्योतिष डा. सुनिल सिटौला दिउँसो १ बजेर २५ मिनेटको शासकीय ग्रह गणित अनुसार अष्ट्रियाले हंगरीलाई पराजित गर्ने भविष्यवाणी गर्छन्। त्यस्तै आइसल्याण्ड र पोर्चुगलबीचको खेलमा पोर्चुगल जित्ने उनको भविष्यवाणी छ।'बराबरी हुने स्थितीलाई समावेस गरिएको छैन', सिटौला भविष्यवाणीबारे भन्छन्, 'प्रश्नमा ज्योतिषको सासकिय ग्रहले जित या हारलाई मात्र पुर्व अनुमान गर्न सकिन्छ।'
सिटौला आफ्नो भविष्यवाणीको पक्षमा तर्क गर्दै भन्छन्, 'ज्योतिषले प्रश्नमाथि चिन्तन गर्दाको लग्नेस, लग्न नक्षत्रेस, चन्द्र रासिस, चन्द्र नक्षत्रेस र वारेसलाई शासकीय मान्छ र त्यसको केही जोड घटाउ गरेर सटीक फलादेश गर्छ।'
उनले आइतबार गरेको सबै तीन खेलको भविष्यवाणी मिलेको थियो तर शनिबारका भने दुई खेलको भविष्यवाणी गलत भयो।
सिटौला आफ्ना अधिकांश फलादेश सही भएको दावी गर्छन्। अण्डर २३ विश्वकप फुटबल र अन्डर १९ क्रिकेटमा आफ्नो भविष्यवाणी सही भएको जिकिर गर्छन्।