
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषदमा दर्ता रहेका विभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ।
दर्ता खारेज हुनेमा नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्मरेस्लिङ संघ, नेपाल लागुपदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघ रहेको छ।
दर्ता भएयता साधारणसभा नगराएको र निष्क्रिय रहेको राष्ट्रिय संघ छानबिन समितिको प्रतिवेदनका आधारमा पहिलो चरणमा सात संघको दर्ता खारेज गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन्। यो क्रम अझै जारी रहने र प्रक्रिया पूरा नगर्ने अन्य संघको पनि दर्ता खारेज हुने उनलले बताए।
२०७२ पुस २ गते राखेप सदस्य शान्ति सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। राखेपद्वारा गठित उक्त समितिमा खेलकुद विकास विभागका अधिकृत ज्ञानेन्द्र श्रेष्ठ सदस्य तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत शारङ्गिन निरौला सचिव थिए।
नेपाल फुटबल संघ २०६५, जेनुइन मार्सल आर्ट संघ २०६६, फ्युजन मार्सल आर्ट संघ २०६७, नेपाल खेलकुद योग संघ २०६८, नेपाल आर्मरेस्लिङ संघ २०६५, नेपाल लागुपदार्थ तथा एड्स संघ २०५७ तथा नेपाल कर्पोरेट खेलकुद संघ २०६३ सालमा राखेपमा दर्ता भएका थिए।