PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​बिरयानी बद्नाम भएपछि नयाँ शक्ति फर्कियो पुरानै दालभातमा



रमेश वाग्ले

​बिरयानी बद्नाम भएपछि नयाँ शक्ति फर्कियो पुरानै दालभातमा

काठमाडौँ : एकीकृत नेकपा माओवादीबाट अलग भएर नयाँ शक्ति नेपाल पार्टी गठन गरेका बाबुराम भट्टराईको पार्टीले हरेक कुरा नयाँ गर्ने भनेर प्रचार गरे। सायद् त्यसैबाट प्रभावित भएका जनकपुरका बज्रकिशोरले पनि आम नेपालीले खासै नचिनेको खानाको तयारी गरे- बिरयानी। 

सामाजिक सञ्जालदेखि समाचारका हेडलाइनसम्म बाबुरामले बिरयानी खुवाउने कुरा चर्चामा आयो। तर जब सोमबारको कमलादीस्थित प्रज्ञा भवनमा छलफल सत्र सुरु भयो र खाना खाने बेला भयो, त्यहीँबाट आलोचना र व्यंग्य सुरु भयो। 

कसैले बिरयानी के-के न होला भनेको त भुटेको बासीभात पो रहेछ भने। कार्यकर्तामध्ये सक्नेले त्यसलाई छोडेर बाहिर होटलमा गएर खाए भने नसक्नेले त्यसैमा चित्त बुझाएर व्यंग्य मात्र गरी बसे। 

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले पनि भुटेको भातमा दुई टुक्रा मासु उपयुक्त खाना नभएको अनुभव सुनाए। त्यसैले मंगलबार नयाँ शक्ति पुरानै खानातर्फ फर्कियो। 

'यो खाना कम्तिमा निल्न त सकिन्छ नि' सुनसरीबाट आएका प्रतिनिधि भुपेन्द्रकुमार कटवालले भने, 'हिजो त बिरयानी खाँदा बडो कष्टसँग निल्नु पर्‍यो।' 

उनले दुई टुक्रा मासु मिसाउन समेत भूलेका प्याकेट पर्नेहरुको बिजोग भएको बताए। आफू कम उमेरकै भए पनि खान समस्या भएको भन्दै प्रौढ उमेरकाहरुका लागि त त्यो गलतै भएको उनको कथन थियो।  

भूपेन्द्रभन्दा अलि उमेर पाकेका सर्लाहीका एक प्रतिनिधिले बिहानको खानाका रुपमा बिरयानी उपयुक्त नै नहुने बताए। 'न कुनै मिठो स्वाद छ, न त खानलाई सजिलो नै छ' उनले भने, 'यी आज हेर्नुस् न, मासु नभएर के भयो, खान त सहज रुपमा सकियो।' 

उनले नेपाली खाना हरेक दृष्टिले उपयुक्त भएको भन्दै नयाँ देखाउनका लागि मात्र काम गर्न नहुने बताए। 'यहाँ नयाँ के छ? सब त पुरानै छ, खाली हामीलाई काम गर्ने शैली र संस्कार नयाँ चाहिया हो नि।'  विगतका कमिकमजोरी सच्याउन सके मात्र पनि धेरै कुरा हुने उनले बताए।
आजको नयाँ शक्तिको भोजमा दाल, भात, तरकारी र गाजरको सलाद राखिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell