PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

​ सयको गैँडापछि अब हजारको हात्ती पनि जुम्ल्याहा आउँदैछ चीनमा छापिने नोटमा



मनोज सत्याल

​ सयको गैँडापछि अब हजारको हात्ती पनि जुम्ल्याहा आउँदैछ चीनमा छापिने नोटमा


काठमाडौँ : नेपाल राष्ट्र बैंकले नोटमा भएका जनावरहरुमा परिवर्तन थालेको छ। चीनको चाइना बैँकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनमा छापेर सोमबारदेखि प्रयोगमा ल्याइएको सय रुपैँयाको नोटमा माउ गैँडा र बच्चा गैँडा राखेको राष्ट्र बैंकले अब हजारको नोटमा भएको हात्ती पनि परिवर्तन गर्ने भएको छ।

 किन गर्दैछ त राष्ट्र बैंकले नोटमा परिवर्तन? नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी भन्छन् - 'नोटमा पहिलादेखि नै संस्कृति, वातावरण र सम्पदाहरुको महत्व झल्काउन यस्ता काम हुने गरेका छन्।' 

नोटमा परिवर्तन गर्ने विषयमा राष्ट्र बैँकको नोट डिजाइन कमिटीले निर्णय लिन्छ। कमिटीले नै अहिलेको सय, पाँच सय र हजारको नोटमा परिवर्तनको निर्णय लिएको हो।

नोट डिजाइन कमिटीमा रहेका संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार अहिलेसम्म सय रुपैँयाको नोटमा रहेको गैँडा कहाँको हो र कसले खिचेको हो भन्ने केही अत्तोपत्तो थिएन। त्यसैले नयाँ डिजाइनमा नेपालकै माउ र बच्चा गैँडा प्रयोग गरिएको हो।

'यो हाम्रै नेपालको गैँडा र त्यसको बच्चा हो, अब कसैले दावी गर्न पाउँदैन, हामी सबैथोक प्रमाण देखाउन सक्छौँ', उनले भने, ' पहिलाको आइडिन्टीटी नै गर्न सकिएन।'

  राष्ट्र बैंकको नोट डिजाइन कमिटीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको समेत सहभागिता रहने गरेको छ। विभागले नै माउ र बच्चा (केटा) गैँडाको तस्वीर उपलब्ध गराएको हो।

राष्ट्र बैंकले हजारको नोटमा भएको हात्ती समेत परिवर्तन गर्ने निर्णय लिइसकेको छ। यद्पि नयाँ डिजाइनको नोट सार्वजनिक हुन भने बाँकी नै रहेको छ। जोशीका अनुसार अब हजारको नोटमा समेत जोर हात्ती हुनेछन्। यसअघि एउटा मात्र हात्ती रहेको नोटमा परिवर्तन हुने भएको हो।

सन् १९६४ देखि हजारको नोटमा यो हात्ती प्रयोग हुँदै आएको छ। 

'हात्ती कहाँको हो भन्ने पनि थिएन। अफ्रिकाको पो हो कि जस्तो भयो', जोशी भन्छन्, 'त्यसैले परिवर्तन गर्न लागिएको हो।'

वन्यजन्तु संरक्षण विभागमा उपमहानिर्देशक गोपाल भट्टराई जोर हात्ती प्रयोग गर्नुको कारण बताउँदै भन्छन् - 'विश्वका अन्य मुलुकमा समेत हात्तीले जुम्ल्याहा पाएको उदाहरण भएपनि नबाँचेको र नेपालको जुम्ल्याहा हात्ती बाँचेका कारण नोटमा समावेश गर्न लागिएको हो।'

'थाइल्याण्ड र श्रीलङ्कामा जन्मेको रेकर्ड छ तर दुइ वटै बाचेको रेकर्ड छैन। तर हाम्रोमा राम लक्ष्मण हात्ती आठ वर्षको अवस्थामा जिउँदै अवस्थामा छन्', उनले भने, 'हात्ती प्रजनन् केन्द्रमा जन्मेका हात्ती नै हामीले नोटमा राख्न लागेका छौँ।'

पाँच सयको नोटमा भएको बाघ समेत अब नेपाली बाघ हुनेछ। 'पहिलाको बाघ त थियो तर बंगाल टाइगर हो कि के हो भन्ने भयो', जोशी भन्छन्, 'अब नेपालकै पहिचानवाला बाघ राखेका छौँ। त्यो निर्णय नोट डिजाइन समितिमा गएको छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell