PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​घरमा आगो लगाउन तयार भए नयाँ शक्तिमा सामेल हुनुस् : विकासानन्द



रमेश वाग्ले

​घरमा आगो लगाउन तयार भए नयाँ शक्तिमा सामेल हुनुस् : विकासानन्द

समय ने अँधेरीसे दोस्ती की हे
रोशनीके लिए घरमेँ आग लगाई हे

'डाक्टर बाबुराम भट्टराईले त्यही रोशनी (प्रकाश)का लागि घरमा आगो लगाउनुभएको छ। तपाईँ पनि प्रकाश चाहनु हुन्छ? तपाईँ आफ्नो घरमा आगो लगाउन तयार हुनुहुन्छ भने नयाँ शक्तिमा सामेल हुनुहोस्' 

स्वामी विकासानन्दले नयाँ शक्ति नेपालको छलफल सत्र समापनका क्रममा मन्तव्य दिँदै यसो भने। नयाँ शक्ति नेपालका सल्लाहकार समेत रहेका उनले मन्तव्यबाट एकीकृत नेकपा माओवादी अध्यक्षबाट बाबुरामलाई लाग्दै आएको आरोपलाई पुष्टि गराउने तर्क गरे। 

सँधै आध्यात्मिक प्रवचन दिने विकासानन्दले राजनीतिक भाषण गर्दैगर्दा कता-कता नमिले जस्तो छँदै थियो।

उनले अझ जोस्सिएर भने, 'पानी सल्कँदैछ, ढुंगा पग्लँदैछ, आँखा उघारी हेर नेपाल व्युझिँदैछ।' सभामा गडगडाहट ताली बजिरहेको थियो।

विकासान्दले प्रश्न गरे, 'ताली बजाएर मात्र हुन्छ? पानी सल्कँदैछ, ढुंगा पग्लँदैछ भनेको के हो?' 

ताली बजाउनेहरु सम्हालिए। विकासानन्दले भने 'पानी सल्कन्छ, ढुंगा पग्लन्छ? यो कुरा संभव छैन। हो, त्यही असंभव कुरा नेपालमा हुँदैछ, नयाँ शक्ति नेपाल अघि बढ्दै छ।'

उनले नयाँ सन्दर्भ निकाले। 'सर्पले काँचुली फेर्छ। काँचुली फेरेको समयमा सर्प सुन्दर बलियो र फूर्तिलो हुन्छ, यो देशले पनि काँचुली फेर्ने समय आएको छ। त्यो काँचुलीलाई नयाँ शक्तिले प्रतिनिधित्व गर्छ।' 

काँचुली फेरेपछि सर्पले ताजगी प्राप्त गर्ने हो न कि काँचुलीले, सर्पको काँचुली भनेको सर्पका लागि काममा नआउने चिज हो,तर विकासानन्दले त्यही काँचुलीलाई नयाँ सक्तिले प्रतिनिधित्व गर्छ भनिदिए। 

बाबुरामलाई सिकाए

उनले सभालाई सम्बोधन गर्दै विकास र बहस आन्तरिक र बाह्य दुवै रुपमा हुने बताए। र, बाबुरामतिर हेर्दै भौतिक विकास र समृद्धिले मात्र केही नहुने बताए।

'विकास र समृद्धिले उच्च तहमा पुगेका विश्‍वका शक्तिशाली देशहरु छन् त, तर त्यहाँ पनि आत्महत्या हुन्छ। हाम्रो देशबाट पनि यहाँको कमाइले नपुगेर कोरिया जान्छन्। महिनामा एक डेढ लाख कमाउँछन्,' उनले भने, 'तर पनि त्यसले नपुगेर आत्महत्या गर्छन्।' उनले भौतिक समृद्धिले मात्र समृद्धि प्राप्त नहुने बताए।
'मानिस बाहिर र भित्र दुवै तर्फ द्वन्द्वमा हुन्छ। बाहिरको द्वन्द समाधान गरेर मात्र विकास संभव हुँदैन' उनले कडा स्वरमा भने, 'त्यसैले आर्थिक क्रान्ति गरेर मात्र हुँदैन, मनोक्रान्ति पनि एकैसाथ हुनुपर्छ।'

उनले आफ्नो कुरा जोडिहाले त्यहाँ। मनोक्रान्ति गर्नुपर्ने भन्दै उनले धेरैअघिदेखि अभियानै चलाउँदै आएका छन्। 

नयाँ शक्तिलाई न्योक्रेसी भन्न प्रस्ताव

उनले नयाँ प्रस्ताव पनि गरे, नियो भनेको ल्याटिन शब्द हो जसको अर्थ नयाँ हुन्छ। क्रेसी भनेको शक्ति हो। डेमोक्रेसी पनि त्यस्तै हो। डेमो भनेको जनसंख्याको र क्रेसी भनेको शक्ति हो। त्यसैले नयाँ शक्तिमा पनि विचारको बहस भइरहेको छ यसलाई न्योक्रेसी भन्नुपर्छ। न्यु पावर भनेर हुन्छ? हुँदैन त्यसले सकारात्मक अर्थ दिँदैन। 

बाबुरामलाई सुझाव

उनले बाबुराम भट्टराईलाई नियमित नेतृत्व विकास तालिम संचालन गर्न सुझाव दिए। 'बहुराष्ट्रिय कम्पनीहरु हुन्छन् नि, विदेशमा लगानी गर्ने अनि पैसा लगिरहने। तिनीहरुमा नियमित रुपमा लिडरसिप ट्रेनिङ हुने गर्छ,' उनले भने, 'हो, त्यसै गरी नियमित तालिम दिनुस्। हामी आध्यात्मिक प्रवचन मात्र हैन, लिडरसिप ट्रेनिङ पनि दिने गर्छौ त्यसमा हामीलाई सम्झनुहोस्।'

उनले मल्टी नेशनल कम्पनीले विदेशी भूमि, विदेशी श्रम, विदेशी कच्चा पदार्थमा आफ्नो लगानी गरेर पैसा आफ्नोमा लगिरहे जस्तै गर्न पनि सुझाव दिए। 

'डाबर नेपाल छ नि भारतीय कम्पनी। नेपालमा लगानी गर्छ, नेपाली भूमि, नेपाली श्रम, नेपाली कच्चा पदार्थ र नेपाली बजार प्रयोग गर्छ तर पैसा लगिरहन्छ' उनले थपे, 'त्यसको विरोध नगर्नुस्, तपाईँ पनि विदेशको पैसा भित्र्याउने कुरा गर्नुस्। तर यहाँ मल्टिनेशनल कम्पनीले जस्तै नेतृत्व विकास गर्नुस् र भोट ल्याइरहनुस्।'  उनले समय अभाव भएको भन्दै फेरि पनि यस्ता कार्यक्रम संचालन गर्ने भन्दै विदा लिए।  

समाचारमा प्रयोग गरिएको फाइल फोटो विकासानन्दको फेसबुक पेजबाट लिइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell