PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

आइफोनको लोभ देखाएर फेसबुके लभरले यसरी फसाए विनितालाई



सविन ढकाल

काठमाडौँ : विनिता र संगमको भर्चुअल भेट भयो, फेसबुकमार्फत्। वर्षदिनअघि संगमले पठाएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेपछि दुईको च्याट सुरु भयो। यो च्याट यति गहिरियो कि उनीहरु अब यसलाई वैवाहिक जीवनमा परिवर्तन गर्ने सुरसारमा छन्। यद्यपि दुवैको भेट अहिलेसम्म भएको छैन। 

विनिता काठमाडौँमा बसेर पढाइ सँगसँगै काम पनि गरिरहेका छन् भने संगमले आफू बेलायतमा रहेको बताएका छन्। 

केही दिन अघि संगमले युकेबाट विनितालाई गिफ्ट पठाइदिने बतायो। विनिता दङ्ग परिन् र आफ्नो पूरा ठेगाना दिइन्। आइफोन सिक्स, गहना र केही मिठाई - संगमले पठाइदिन लागेको गिफ्टको सूची। 

'ल मैले सामानहरु पार्सल गरेर पठाइदिएँ है,' संगमले च्याटमा लेख्यो।

प्रेमीको गिफ्ट पाउन विनिता आतुर थिइन्। दिन बित्यो, साता बित्यो तर गिफ्ट आएन। उताबाट संगमले भने गिफ्ट पाएनौ भनेर सोधी नै रहे। 
एक दिन विनिताको मोबाइलमा एक अपरिचित नम्बरबाट फोन आयो। फोन भारतबाट एक युवकले गरेका थिए। 'युकेबाट तपाईँको साथीले पठाएको सामान इन्डियाको एयरपोर्टमा आएर अल्झिएको छ। केही समस्या पर्योत। कर तिर्नुपर्ने भयो। केही रकमको आवश्यकता छ', उसले भन्यो। 

विनिताले त्यो कुरा संगमलाई पनि सुनाई। प्रेमीले पठाएको गिफ्ट पाउने आश कसलाई पो नहोला र? उनले फोनमा त्यो केटाले भने झै ३० हजार रुपैयाँ भारत पठाई। 

'अबको केही दिनमा तपाईँका सामान तपाईको स्थानमा आइपुग्छ', उसले भन्यो। तर अहँ, सामान आएन। 

केही दिनपछि फेरि त्यही केटाले दोस्रो पटक फोन गर्योस। फेरि उही समस्या देखायो र फेरि पनि २५ हजार रुपैयाँ माग्यो। गिफ्टको लोभमा उनले पैसाको जोहो गरी फेरि पैसा पठाइन्। तर अहँ सामान अझै आएन। 

त्यसपछि भने उनी झसङ्ग भइन्। आफू ठगिएको महसूस गरिन्। र, लागिन् टेकुस्थित महानगरीय अपराध अनुसन्धान महाशाखामा। 
महाशाखाका डिएसपी पशुपति राय भन्छन् 'यो ठगीको नयाँ शैली हो। उनी ठगिइन्। उनीमात्र हैन पछिल्लो समय फेसबुकको माध्यमबाट यसरी ठगिएर उजुरी दिने क्रम बढेको छ।' 

'युवा पुस्ता २० देखि २५ वर्ष उमेर समूहमा यस्तो बढी हुन्छ', उनले भने। 

विनिताको फेसबुकले जुटाएको माया, विश्वास सम्बन्ध ५५ हजार रुपैयाँमा आएर टुङ्गियो। 

डिएसपी राय यस्तो ठगीबाट बच्न फेसबुकमा अपरिचितलाई साथी बनाउन र उनीहरुसँग कुरा नगर्ने सुझाव दिन्छन्। खबरदार, तपाईँ पनि यस्तै घटनाको अर्को पात्र बन्न सक्नुहुन्छ। सचेत हुनुस्। 

(समाचारमा प्रयोग गरिएको पीडित युवतीको नाम परिवर्तन गरिएको छ। तपाईँ पनि यस्तो किसिमको ठगीबाट पीडित हुनुहुन्छ भने प्रमाणसहित हाम्रो इमेल [email protected] मा सम्पर्क गर्न सक्नुहुन्छ।) 

​फोटो साभार : भाइरलक्रोनिक्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell