PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

​अफसोर लिक्समा भेटिए पाँच हाइप्रोफाइल नेपाली : विनोद चौधरीका छोरादेखि गोल्छाकी बहिनीसम्म



उमेश श्रेष्ठ

​अफसोर लिक्समा भेटिए पाँच हाइप्रोफाइल नेपाली : विनोद चौधरीका छोरादेखि गोल्छाकी बहिनीसम्म

काठमाडौँ : नेपालको विद्यमान कानुनी व्यवस्था उल्लङ्घन गर्दै विदेशमा कम्पनी खोली अफसोर कारोबार गर्ने थप हाइप्रोफाइल नेपालीहरु भेटिएका छन्। यी हाइप्रोफाइलहरुको नाम अन्तर्राष्ट्रिय खोजमूलक पत्रकारहरुको संस्था आइसिआइजेले सार्वजनिक गरेको डेटाबेसमा भेटिएका हुन्। डेटाबेसमा उनीहरुको नाम नेपालसँग जोडिएको नभेटिए पनि पहिलोपोस्ट र बिजमान्डुको अनुसन्धानले उनीहरु नेपाली नै रहेको भेटिएको हो। 

करको दर एकदम कम हुने वा लाग्दै नलाग्ने देश वा क्षेत्रहरुमा शेल (कागजी रुपमा मात्रै अस्तित्वमा भएका) कम्पनीहरुमार्फत् कारोबार गर्नुलाई अफसोर कारोबार भनिन्छ।

सन् २०१३ को अफसोर लिक्समा नेपालबाट १२ जनाको नाम देखिए पनि त्यसमा थप नेपालीहरु पनि रहेको अहिले खुलेको हो।

खोजमूलक पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले सन् २०१३ मा सार्वजनिक गरेको अफसोर लिक्स र गएको सोमबार मध्यरात सार्वजनिक गरेको पनामा पेपर्स लिक्सलाई अहिले एउटै डेटाबेसमा सजिलै खोज्न मिल्ने गरी राखिएको छ। त्यसैकारण पहिले नदेखिएका नामहरु पनि अहिले देखिएका हुन्। 

को को भेटिए?

वरुण चौधरी

वरुण चौधरी नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीका छोरा हुन्। उनी चौधरी ग्रुप र विभिन्न मुलुकमा यसले लगानी गर्ने सिन्नोभेसन ग्रुपका कार्यकारी निर्देशक हुन्। हाल उनको हैसियत एनआरएन भएकोले विदेशमा लगानी गर्न पाउने भए पनि अफसोर लिक्समा इस्टरडेल होल्डिङ सन् २००५ को जनवरीमा खोलेको देखिएको छ, जतिबेला उनी एनआरएन भइसकेका थिएनन्। 

अफसोर लिक्समा वरुण चौधरीको नाम 'वरुम' लेखिएको भए पनि उनी वरुण नै रहेको उनीसँग सम्बन्धित कम्पनीको लिङ्कले देखाएको छ। सन् २००५ को जनवरी ७ मा लन्डन ठेगाना राखेर खोलिएको इस्टरडेल होल्डिङ्ग्स लिमिटेडका एकमात्र डाइरेक्टर चौधरी रहेका छन्। कम्पनी सनस्टार डेभलपर लिमिटेडको सेयरहोल्डर देखिएको छ। 

सिन्नोभेसन ग्रुप लिमिटेडले आफ्नो वेबसाइटमा राखेको ब्रोसरमा दुबईमा सन् २००४ मा सनस्टार डेभलपर खोलिएको र पछि त्यसको नाम सिजी रियाल्टी राखिएको उल्लेख छ। 

यसअघि पनामा पेपर्समा विनोद चौधरीका भाइ अरुण चौधरी, उनकी पत्नी शीला तथा छोराहरु सूर्यांश र करणको नाम रहेको सार्वजनिक भइसकेको छ। 

उषा गोल्छा कन्करिया

उषा गोल्छा अर्गनाइजेसनका म्यानेजिङ डाइरेक्टर तथा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्यका रुपमा मनोनीत उद्योगपति दीवाकर गोल्छाकी बहिनी हुन्। गोल्छा परिवारका पाँच दाजुभाइ र तीन दिदीबहिनी छन्। तीन दिदीबहिनी मध्ये उषा माहिली हुन्। हालको संसदमा एमालेबाट समानुपातिक सांसद रहेकी राज्यलक्ष्मी गोल्छा उषाकी बुहारी हुन्। 

उषा र अवन्तिकुमार कन्करिया ब्रिटिस भर्जिन आइल्यान्ड्समा २२ जनवरी २००५ मा खोलिएको अप्टिकल अर्बिट्स इन्कका सेयरहोल्डर हुन्। यो कम्पनीको स्टायटस अझै एक्टिभ देखिएको छ। त्यसैगरी उनीहरु सेयरकोर्प लिमिटेडको नोमिनी सेयरहोल्डर पनि देखिएका छन्। 

सुहृदराज घिमिरे

घिमिरे नेपालको ठूला व्यवसायिक घरानामध्ये एक कन्टिनेन्टल ग्रुपका संस्थापक अध्यक्ष हुन्। यही ग्रुपको कन्टिनेन्टल एसोसिएट्सले नेपालमा किया मोटर्सको कार र बसहरुका साथै कोमात्सु निर्माण उपकरणको आधिकारिक विक्रेता हो। उनी ग्लोबल आइएमइ बैँकका प्रमोटरमध्येका एक हुन्। 

अफसोर लिक्समा उनी सन् २००६ को अप्रिल ७ देखि इको बे लिमिटेडको सेयरहोल्डर देखिएका छन्। यो कम्पनीको स्टायटस अझै एक्टिभ छ। कम्पनीको दर्ता ठेगाना सिंगापुर देखाइएको छ भने यसका डाइरेक्टर र सेयरहोल्डरमा घिमिरे स्वयं र उनका साझेदार पुरुषोत्तम पौडेल छन्। 

पुरुषोत्तम पौडेल

पौडेल सुह्रदराज घिमिरेका व्यवसायिक साझेदार हुन्। उनी कन्टिनेन्टल ग्रुपका एक्जेक्युटिभ भाइस प्रेसिडेन्ट थिए। हाल उनी सिंगापुरमै दर्ता गरिएको आइपे फाइनान्सियल सर्भिसेज प्राइभेट लिमिटेडका एक्जेक्युटिभ भाइस प्रेसिडेन्ट हुन्। नेपाल लगायतका देशमा अनलाइन पैसा पठाउने काम यो कम्पनीले गर्छ। 

पौडेल अफसोर लिक्समा सन् २००६ को अप्रिल ७ देखि सिंगापुर दर्ता ठेगाना रहेको इको बे लिमिटेडको सेयरहोल्डर र डाइरेक्टर देखिएका छन्। यो कम्पनीको स्टायटस अझै एक्टिभ छ।

नवीन्द्र जोशी

नवीन्द्र जोशी अफसोर लिक्समा ब्रिटिस भर्जिन आइल्यान्ड्समा दर्ता गरिएको वर्ल्ड डिस्ट्रिब्युसन नेपालका डाइरेक्टरका रुपमा देखिएका छन्। उनका दाजु बिजेन्द्र जोशीको नाम यसअघि नै अफसोर लिक्समा देखिएको थियो। बिजेन्द्र, नवीन्द्र र ससिन जोशी दाजुभाइ हुन्। ससिन अहिले नबिल बैँकका सिइओ छन्। 

नवीन्द्रको नाम हिमालयन इन्भेस्टमेन्ट ग्रुप लिमिटेडमा सेयर होल्डरको रुपमा पनि देखिएको छ। यो इन्भेस्टमेन्ट ग्रुपमा विमल काजी ताम्राकार र विश्ववर सिंह थापासमेत सेयरहोल्डर छन्। थापा पूर्व प्रधानसेनापति धर्मपाल थापाका छोरा हुन्।  

कानुनमा के छ ?

२०२१ सालमा लागू भएको र २०६६ सालमा संशोधन भएको विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ ले नेपालभित्र वा बाहिर जहाँसुकै रहे बसेको भए तापनि सबै नेपाली नागरिक र नेपालभित्र स्थापित भएको संगठित संस्थाहरुले विदेशमा कुनै किसिमको लगानी गर्न प्रतिबन्ध लगाएको छ। 

 
 
लगानीलाई अर्थ्याउँदै ऐनको दफा २ मा विदेशी सेक्युरिटी, विदेशी फर्मको साझेदारी, विदेशी बैँक अकाउन्ट, विदेशस्थित घरजग्गा र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको बाहेक विदेशमा गरिने जुनसुकै किसिमको नगदी वा जिन्सी लगानी भनिएको छ।  

 
 

यो ऐन र ऐन अन्तर्गत जारी गरिएको सूचना, आदेश वा निर्देशनको उल्लङ्घन गरी कुनै काम कुरा गरेमा बिगोबमोजिम जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell