
डिफेन्डिङ च्याम्पियन चिली अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको खेलमा पानामालाई हराएसँगै चिली समुह डी को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो।
यस्तै गत संस्करणको उपविजेता अर्जेन्टिनाले समूह चरणको सबै खेल जितेको छ।
फिडाडेल्फियास्थित लिन्कन फिनानसियल फिल्डमा भएको खेलमा एडुवार्डो भर्गास र एलेक्स सान्चेजले २/२ गोल गरे पनि चिलीले पानामालाई ४–२ ले पराजित गरेको हो।
तर खेलमा पाँचौं मिनेटमै मिगुएल कमार्गोले गोल गर्दै पानामालाई पहिले अग्रता दिलाएका थिए। १५ औं मिनेटमा चिलीका भर्गासले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए भने ४३ औं मिनेटमा भर्गासले नै व्यक्तिगत दोस्रो गोल गर्दै चिलीलाई अग्रता दिलाए।
दोस्रो हाफ सुरु भएको पाँच मिनेटपछि नै सान्चेजले गोल गरेपछि चिली ३–१ को अग्रता बनाउन सफल भयो। ७५ औं मिनेटमा पानामाका अव्दियल अरोयोले गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरेका थिए। तर खेल सकिन एक मिनेटअगाडि सान्चेजले व्यक्तिगत दोस्रो गोल गरेपछि चिली ४–२ ले विजयी भएको हो।
समूह चरणको पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको चिलीले त्यसपछिको खेलमा बोभियालाई हराएको थियो।
यसअघि नै दुई खेल जित्दै क्वाटरफाइनल पुगिसकेको अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा बोलिभियालाई ३–० ले पराजित गरेको छ।
अर्जेन्टिनाले पहिलो हाफमै ३ गोल गरेको हो। खेलको १३ औं मिनेटमा एरिक लामेलाले गोल गर्दै अर्जेन्टिनालाई पहिले अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै एजेक्वेल लाभेज्जीले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। ३३ औं मिनेटमा भिक्टो लिएन्ड्रो कुएस्टाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को अग्रता दिलाए। पहिलो हाफमा ३ गोल गरे पनि अर्जेन्टिनाले दोस्रो हाफमा भने गोल थप्न सकेन।
लगातार तीन जितपछि अर्जेन्टिना समूह डी को विजेता बनेको छ। अर्जेन्टिनाले अब क्वाटरफाइनलमा समूह सी को उपविजेता भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ।
यस्तै चिलीले सेमिफाइनल प्रवेशका लागि समूह सी को विजेता मेक्सिकोसँग खेल्नेछ। यससँगै अमेरिकामा चलिरहेको कोपा अमेरिका सेन्टेनारियोको क्वाटरफाइनल समीकरण पूरा हुनेछ।
पहिलो क्वाटरफाइनलमा आयोजक अमेरिका र इक्वेडरबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो क्वाटरफाइनलमा कोलम्बिया र पेरुबीच भिडन्त हुनेछ।