
काठमाडौं : १० महिनादेखि मधेसबाट आन्दोलन उठिरहे पनि सरकार वार्ताका लागि तयार नभएको आरोप लगाउँदै मधेसकेन्द्रित दलका नेताहरुले संसद बैठक बहिस्कार गरेका छन्।
संघीय समाजवादी फोरम नेपालबाट बोल्दै लालबाबु राउतले मधेस आन्दोलनसँगै अनसन जारी भइरहँदा पनि सरकारले वार्ताको पहल नगरेको बताए। ‘सरकारले वार्ताको तयारी गरेको देखिन्न। यस्तो वार्ताबाट निकास निस्कन सक्दैन,’ उनले भने, ‘३६ पटक वार्ता भइसक्दा पनि निकास ननिस्कनु सरकारको कमजोरी हो।’
सिंगो संघीय गठबन्धन आन्दोलनमा रहे पनि सरकारले व्यक्ति-व्यक्ति र पार्टी-पार्टीलाइ पत्र पठाएको भन्दै राउतले असन्तुष्टि व्यक्त गरे। सरकारबाट अलोकतान्त्रिक चरित्र प्रदर्शन गरिएको भन्दै उनले आजका दिनसम्म सरकारको तर्फबाट दुई तिहाइ आदिवासी-मधेसीहरुको आन्दोलनलाइ सम्बोधन गर्ने कुनै काम नगरेको बताए।
‘सरकार आफैं कालोबजारी र तस्करी तन्त्रमा फसेको छ। भूकम्पपीडितले अझै राहत पाएका छैनन्,’ सरकारको आलोचना गर्दै उनले भने, ‘कालोबजारी र भ्रष्टाचार नियन्त्रणका लागि केही नगर्ने सरकारले कसरी वार्ताको वातावरण तयार गर्न सक्छ?’
मधेसीकेन्द्रित दलहरुले आजको व्यवस्थापिका संसद बैठक बहिकारपछि अहिले नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसी बोलिरहेका छन्। सरकारको रवैया जारी रहे कांग्रेसले पनि बहिस्कार गर्ने उनले चेतावनी दिए।